सीताराम ओझा- उमेरले ४४ बर्ष पुगेपनि हरि ऐरको फुर्ती र जोस युवा उमेरको भन्दा कम छैन् । माछापुच्छे बैंकको प्रदेश प्रमुख भएर पछिल्लो दुई बर्षदेखि काम गरिरहेका छन् उनी । प्रदेश कार्यालय अत्तरिया स्थापना भएपछि धनगढी वसाई भएका कारण दैनिक आवतजावत गरिरहेका छन उनी आफैं गाडी चलाएर ।
बैंकिङ करियरको क्रिजमा टिकेको १८ बर्ष वितिसकेको छ । जुन बैंकबाट करियरको पारी सुरु गरेका थिए उनले अहिलेसम्म पनि अविजित अर्थात नटआउट भएर त्यही बैंकमा कार्यरत छन उनी । माछापुच्छे बैंकका देशभर एक सय ५९ शाखा, एक सय १३ शाखा रहित काउन्टर, ५ वटा एक्टेन्सन काउण्टर रहेकोमा उनले सुदुरपश्चिममा रहेका बैंका ११ वटा शाखालाई हाकिरहेका छन् । अनुपालनमा नेपालको टप थ्रीमा पर्ने माछापुच्छे बैंकको सुदुरपश्चिम प्रदेशलाई सञ्चालन गरिरहेका छन् उनी ।
धनगढी शाखा प्रबन्धक भएर दश बर्ष अघि धनगढी आएपछि मात्रै उनी बैंकको फ्रन्ट रुपमा देखिएका हुन । त्योभन्दा अघि उनी बैंकको आन्तरिक विभागमा काम गर्थे । नेपाल कमर्स क्याम्पसबाट स्नातक र स्नाकोत्तर गरेपछि उनको बैंकमा प्रवेश भएको थियो । तीन बटा बैंकमा खुलेका विज्ञापनमा आवदेन दिए । तीन वटैमा नाम निस्कियो । कुन बैंकमा काम गर्ने भनेर सोच्दा उनले माछापुच्छे बैंक छाने । सुरुवातमा माछापुच्छे बैंक क्षेत्रीय बैंकका रुपमा थियो ।
मुख्य कार्यालय थियो पोखरा । तर क वर्गको राष्ट्रिय बैंकको लाईसेन्स लिने तयारीमा थियो माछापुच्छे बैंक । अन्य दुई वटा बैंकमा काम गरेपनि काठमाण्डौं वाहिर जानुपर्ने । वाहिर जानु जानु अन्त किन जानु भनेर पोखरा नै छाने । माछापुच्छे छान्नुको अर्को कारण थियो पोखरामा धेरै वस्नु पर्दैन । किनकी क बर्गको बैंक भएपछि काठमाण्डौंमै वसेर काम गर्न पाईन्छ भन्ने सोचेर उनले माछापुच्छे छानेका थिए ।
सहायक पदबाट बैंकमा काम सुरु गरे । पोष्टिङ भयो वित्त तथा योजना विभागमा । झण्डै ९ महिनासम्म पोखरामै काम गरे । त्यसपछि बैंकले क वर्गको लाईसेन्स पायो । कर्पोरेट कार्यालय काठमाण्डौं सर्यो । उनी पनि काठमाण्डौं आए । आन्तरिक लेखा परिक्षण विभागमा साढे ६ बर्ष काम गरे उनले ।
बैंकको शाखा धनगढी आउने भयो । हरिलाई शाखा प्रबन्धकको जिम्मेवारी दिईयो । २०६७ साल जेठ १५ गते धनगढी शाखाको कारोबार सुरु भयो । उनीले पहिलो पटक बैंकका ग्राहकहरुसँग भेटघाट भएर काम गर्ने मौका पाए ।
अर्थात यसअघि बैंकको पर्दा पछाडी बसेर काम गरिरहेका उनी अगाडी आएर काम गर्न थाले । काम गरेर पनि देखाए । बैंकको प्रगति राम्रै भयो धनगढी शाखाबाट । सर्भिस उईथ प्रसनल टचको मुलमन्त्रलाई वोकेर हिडेका उनीले पहिलो शाखा प्रबन्धकै रुपमा काम गर्दा कमाल देखाए ।
कर्जा तथा लगानीमा धनगढी शाखलाई टप वान बनाएर स्थापित गरे । सवा सात बर्ष धनगढी शाखाको प्रबन्ध भएपछि महेन्द्रनगर शाखामा प्रबन्धक भएर गए । ७ महिना काम गरे । शाखालाई एउटा बाटोमा डोराए ।
त्यसपछि पश्चिमी सीमाबाट नेपालको पुर्वी सीमा क्षेत्र बिर्तामोड पुगे । त्यहाँ ४ महिना मात्रै काम गरे । बैंकका पछाडीका विभागहरुमा बसेर हरिले गरेको काम बैंक व्यवस्थापनले देखेको थियो भने अगाडी आएर शाखा प्रबन्धकको रुपमा काम गर्दा प्रगति डाटाले आफै बोलिसकेको थियो ।
उनलाई बैंकले सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ को नायब प्रदेश प्रबन्धकमा जिम्मेवारी दिईयो । सो पदमा ६ महिना काम गरेपछि उनले सुदुरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी पाए । जुन जिम्मेवारी उनी पछिल्लो दुई बर्षदेखि निभाईरहेका छन् ।
बिना झन्झट ग्राहकहरुलाई बैंकको सेवा प्रदान गर्नु उनको बिशेषता हो । ठुलादेखि साना सबै ग्राहकहरुलाई समान व्यवहार गर्छन् । बैंकबाट हुन सक्ने सहयोग दिन सकिने सेवा दिन्छन् । उनको सफलताको कारण पनि यही हो ।
पुख्यौली घर डडेल्धुराको अजयमेरु गाउँपालिकामा । उनका बाजे २०२८ सालमै तराई झरेका थिए उनका बुबा आमालाई ल्याएर । बाजेले भारतको मुम्बईमा कमाएको पैसाले किनेको जमीन थियो । त्यही जमिनमा घर बनाएर बसे बाजे र बुबा । ठाउँ थियो अहिलेको शुक्लाफाँटा नगरपालिकाको पिपलाडीमा । २०३२ सालमा त्यही जन्मिएका हुन् हरि । बाल्यकालका केही बर्ष त्यतै विताए ।
स्थानीय विद्यालयमा तीन कक्षासम्म पढेपछि उनी नेपालगंज गए । कारण थियो बुबाको जागीर । उनका बुबा बरिष्ठ कृषि अधिकृत थिए । सरकारी जागीरे जता सरुवा भयो उतै जानुपर्ने बाध्यता । कक्षा चारदेखि नेपालगंजमा पढाई थालेका उनले एसएलसी पनि त्यहीबाट दिए ।
त्यही बेला उनले क्रिकेट खेल्न थाले । त्यो वेला नेपालगंजमा क्रिकेटको क्रेज थियो । विद्यालयमा पनि क्रिकेट । क्लबमा पनि क्रिकेट । सीमा क्षेत्रमा पनि क्रिकेट । अर्को अर्थमा क्रिकेटमय थियो नेपालगंज र आसपासको क्षेत्र । पढाईसँगै क्रिकेटले मोहनी लाईसकेको थियो उनलाई । स्थानीय क्रिकेट खेल्ने क्लब थियो, रोयल क्लब । त्यही क्लबबाट क्रिकेट खेल्थे उनी ।
लखनउ, वाराबंकीम्म पुग्थे क्रिकेट खेल्न । नेपालगंज आउँथे त्यहाँका टोली । अर्थात सीमावर्ती शहरमा होम एण्ड अवे जस्तै आउने जाने क्रिकेट खेल्ने परम्परा थियो । उनले विद्यालय उमेरमा धेरै प्रतियोगिता खेले उनले । ओपनर ब्याट्सम्यानको रुपमा क्रिजमा जाने हरिले भारतको टीम विरुद्ध तीन छक्का प्रहार गरेको अझैं बिर्सेका छैनन् । उनीसँगै खेलेका तीन जना खेलाडीहरुले नेपाली टीमबाट खेलेको पनि थाहा छ उनलाई । एक जना बलर प्रशिक्षक पनि बने ।
एसएलसी पास गरेपछि उनी महेन्द्रनगर फर्किए । बुबाको ईच्छा थियो छोरा डाक्टर ईन्जिनियर बनोस् । त्यसका लागि उनले देहरादुनको क्याम्पसमा भर्ना गरिसकेका थिए । तर उनकी हजुर आमाले मानिन् । नातिलाई आफुसँगै राखेर पढाउने टाढा नपठाउने अठान कसिन् । महेन्द्रनगरको सिद्धनाथ वहुमुखी क्याम्पसबाट ईन्टर उत्तिर्ण गरे । त्यसपछि नै उनले काठमाण्डौंमा उच्च शिक्षा पुरा गरेपछि बैंकिङ करियर थालेका हुन् ।
पढाईदेखि सुरु भएको उनको क्रिकेटको मोहले बैंकमा काम गर्दासम्म पनि छोड्न सकेन् । २०६७ सालमा धनगढी शाखाको प्रबन्धक भएर आउनु अघिसम्म उनी निरन्तर क्रिकेट खेल्थे । बैंक बैंकको बीचमा हुने सोल्ट्री सुपर सिक्स क्रिकेट प्रतियोगितामा कयौं पटक सहभागीता जनाए । रन पनि बर्साए । क्रिकेट भनेपछि उनी हुरुक्कै हुन्छन् अहिलेसम्म पनि ।
उनलाई मन पर्ने देशमा नेपाल । नेपालभन्दा अरु देशमा अष्ट्रेलिया । मन पर्ने खेलाडीमा पारस खड्का । नेपालभन्दा बाहिरकोमा सचिन तेन्दुलकर । लकडाउनको समयमा बैंक बन्द भएपछि उनले टेलिभिजनमा क्रिकेट हेरेरै बसे । सवै फ्र्म्याटका विश्वकपका फाईनल खेल हेरे । ईन्डियन प्रिमियर लिगका सवै फाईनल हेरेर भ्याए ।
महाभारत पनि दोहोर्याएर हेरे । घरमै वसेका वेला नयाँ नयाँ परिकार बनाए । आफु खाए । छोरछोरीलाई खुवाए । श्रीमतिलाई खुशी बनाए । नेपाली ईन्डियन र चाईनिज परिकार बनाउन खप्पिस छन् उनी ।
उनको जीन्दगीको पिचमा श्रीमति ईश्वरी ठकुराठीले पनि राम्रो साथ दिएकी छिन् । उनी पनि पेशाले बैंकर नै हुन् । धनगढीको ग्लोबल आईएमई बैंकमा ७ बर्षदेखि काम गरिरहेकी छिन् । बैंकमा जागीरभन्दा अघि एक बर्ष एनजिओमा काम गरिन् ईश्वरीले । डेढ बर्ष जति पढाई पनि । एमए पास गरेकी उनले त्यसपछि मात्रै बैंकमा जागीर थालेकी हुन् ।
एक छोरा र एक छोरी छन ऐर दम्पतिका । छोरी रिया ऐश्वर्य विद्या निकेतनमा विज्ञान पढ्छिन् । छोरा रिवाज एक्सीस विद्याश्रममा कक्षा पाँचमा पढ्छन् । उनीहरु दुबैका पनि आफ्नै सपना छन् ईन्जिनियर बन्ने । त्यही छोराछोरीकै सपना अनुसार अघि वढिरहेका छन हरि ।
१८ बर्षदेखि बैंकमा अविजित रुपमा काम गरिरहेका उनलाई युवाहरु विदेश गरईरहेको राम्रो लागेको छैन् । उनीहरुलाई कृषिमा लाग्ने मार्गदर्शन र उत्प्रेरणाको कमि देख्छन् उनी । बैंक तथा वित्तिय संस्थाहरुले सहुलियत दरमा कर्जा दिएर उनीहरुलाई नेपालमै रोक्ने किसिमका कार्यक्रमको आवश्यकता महसुस गर्छन् ।
स्वरोजगारका कार्यक्रम वास्तविक सिमान्तकृत वर्गसम्म पुगोस भन्ने उनको ईच्छा छ । निक्षेपकर्ताको बचतकर्ताको उचित ठाउँमा लगानी र त्यसको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने कुरामा उनी सचेत छन् । त्यही भएर पनि चनाखो भएर काम गरिरहेका छन् उनी ।
नेपाललाई कृषिमा नारामा नभएर व्यवहारमा आत्मनिरभर बनाउनुपर्ने उनको निजि विचार छ । अहिले कोरोनाको महामारीको बीचमा पनि घर फर्किएकाहरु फेरि भारत फर्किरहेको समाचार पढ्न र हेर्न पाएका छन् हरिले ।
उनी भारत फर्किरहेकाहरुलाई यतै बसाएर स्वरोजागरका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् । बैंकिङ क्षेत्रमा ठुलो चुनौती रहेको बताउने उनी रिटायर्ड लाईफमा कृषि कर्मसँगै परामर्शदाताको रुपमा काम गर्ने योजनामा छन् । आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना ।