५ वर्षअघि मृत्यु भएका व्यक्तीले कसरी राहत बुझे ? (भिडियो सहित) 
2020/09/17, 4:16
 
rahat

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ को शिवपुरी टोलका महादेव चौधरीको २०७२ सालको जेठमा मृत्यु भईसकेको छ । तर गत बैशाखमा कोरोना भाईरसको नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको लकडाउनको समयमा वडा कार्यालयले वितरण गरेको राहत पाउनेको सूचीमा चौधरीको नाम राखेको भनेर निकै चर्चा भयो ।

चौधरीको किर्ते औँठा छाप लगाउँदै वडा कार्यालयले राहतमा २० किलो चामल, दुई किलो दाल, एक किलो नून, डेढ लिटर तेल, तीन वटा साबुन र दुई किलो चिनी बुझेको देखियो । तर पाँच वर्ष पहिले नै मृत्यु भईसकेकाले राहत कसरी बुझे भनेर धेरै जना अचम्मित भए । सो घटना बारे बुझ्दै जाँदा सत्य कुरा भने अर्कै पायो । वडामा एकै नाम गरेका पुरुष भएका कारण यस्तो समस्या सिर्जना भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाले जानकारी दिए ।

2

मृत्यु भएकाको नाम महादेव डगौरा थारु हो भने राहत बुझ्नेको नाम महादेव चौधरी हो ।  तर नाम एउटै हुँदा सञ्चार माध्यमहरु झुक्किएका थिए । पाँच बर्ष अगाडी मृत्यु भएका भनेर राहत बुझेका व्यक्ती पनि आफु कसरी मरे भनेर अचम्ममा परे । आफु जिउँदै भएको र राहत वुझेको भनेर उनले वडा कार्यालयमा निवेदन नै दिए । साथमा आफ्नो नागरिकताको प्रतिलिपी पनि वुझाए । एक वडामा एकै नाम गरेका दुई व्यक्ती भएका कारण वडा नम्बर ४ को कार्यालय निकै विवादित भयो । तर पछि वास्तविकताको खोजी गर्दा वडा कार्यालयले सही व्यक्तीलाई राहत दिएको पाईएको हो ।

2

वडा कार्यालयले मृत्यु भएका र फर्जी व्यक्तीलाई राहत दिएको भनेर विभिन्न संचार माध्यममा समाचार पनि आए । तर ती समाचारमा कुनै सत्यता नभएको वडाध्यक्ष थापाले जिकिर गरे । उनले वास्तविक पिडित र राहत पाउन लायकहरुलाई मात्रै राहत दिएको ठोकुवा गरे । वडा कार्यालयले राहत वितरणमा कुनै किसिमको तलमाथि नभएको दावी गरेको छ । कतिपय हुने खाने परिवारले समेत राहत बुझेको तर राहत बुझ्नेमा मृत्यु भएका र फर्जी कुनै पनि नाम नरहेको वडाध्यक्ष दिपक थापा दावी गर्छन् ।

2

उनले मृत्यु भएका व्यक्ती र राहत नै नलिएकाहरुको नाम पाउनेको सूचीमा कुनै पनि हालतमा नभएको बताउँदै भने, ‘आवश्यकता हेरेरै राहत वितरण गरेका हौँ । मृत्यु भयो भनेका व्यक्तीको नाम मात्रै मिलेको हो । राहत पाउने जिउँदैछन् ।’ उनले राहत पाएका सबै लाभग्राहीको परिचय खुल्ने विवरण राखिएको दावी गरे ।

4

वडा नम्बर ४ को कार्यालयले भगवती टोल, शिवपुरी टोल, एकता टोल, दक्षिणकाली टोल, ओम शान्ति टोल, घरेलु टोल, उत्तरबेहडी टोल, एन्डीपथ र बेहडीका एक हजार एक सय २२ जनालाई लकडाउनमा राहत वितरण गरिएको जनाएको छ ।