पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै संचार सामाग्री सहित प्रदर्शन
2020/09/18, 2:08
 
andolan

सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै आज पनि जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा सञ्चार सामाग्री सहित धर्ना दिईएको छ।

नेपाल पत्रकार महासंघ कैलालीले घोषणा गरेका दोस्रो चरणको आन्दोलन अन्तरगत पत्रकारहरुले सञ्चार सामाग्री प्रर्दशन र टाउको तथा हातमा कालो पट्टी बाँधेर प्रशासनको मूल गेटमा धर्ना दिएका हुन्।

धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरे। उनले आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको दायरामा नल्याए सम्म सडक संघर्ष जारी राखिने बताए।

दोस्रो चरणका आन्दोलनका कार्यक्रम आज सकिएपनि महासंघले सबै पत्रकारसँग छलफल गरी थप संघर्षका कार्यक्रम घोषणा गर्ने उनले बताए। समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुर्व्यवहार गरेको थियो।

आक्रमणमा संलग्नलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै पत्रकार महासंघ कैलालीको अगुवाईमा आन्दोलनका कार्यक्रम जारी राखिएको छ। पहिलो चरणका आन्दोलनका कार्यक्रम अन्तरगत आईतवार धनगढीको पार्कमोडदेखि जिल्ला प्रशासन कार्यालसम्म ¥याली र कोण सभा गरिएको थियो।

सोमवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर मुख्यमन्त्री त्रिलोभन भट्टलाई ध्यानाकर्षण पत्र बुझाईएको थियो भने मंगलवार आन्तरिक मामिता तथा कानुन मन्त्रालयमा धर्ना दिइएको थियो। सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दिनेश सञ्चारगृहले सार्वजनिक हित विरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालयमा शुक्रवार नै जाहेरी दिएको थियो।