धनगढीदेखि सुदूर पहाडका ४ जिल्लामा हवाई सेवा सञ्चालन गरिदै
2020/09/20, 12:11
 
tourism

गत चैत ११ गतेदेखि कोरोना भाईरसको रोकथामका लागि बन्द गरिएको धनगढी– काठमाडौँ–धनगढी हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ। सरकारले असोज ५ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आन्तरिक उडान पनि सञ्चालन गर्ने निर्णय गरेसँगै प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी–काठमाडौँ नियमित हवाई उडान सुरु गरिन लागेको हो।

सोही अनुसार बुद्ध एयरले सोमबारदेखि गतेदेखि नियमित उडान सेवा सञ्चालन गर्न लागेको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। उनका अनुसार  श्री एयरलाइन्सले भने केही दिनपछि उडान थाल्नेछ। यसअघि धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आएको नेपाल एयरलाईन्सले भने धनगढी विमानस्थलबाट काउण्टर हटाइसकेको छ भने सौर्य एयरलाईन्सले फेरी उडान सुरु गर्ने तयारी थालेको छ।

धनगढी काठमाडौँ मात्र नभएर अबदेखि धनगढीबाट प्रदेशका अन्य पहाडी जिल्लामा समेत उडान भर्ने तयारी थालिएको छ। अहिले धनगढी–बाजुरा चार्टड उडान गरिरहेको समिट एयरले बझाङ, बैतडी र डोटीका लागि समेत उडान थाल्ने तयारी गरेको छ। त्यसका लागि केही साताभित्रै परीक्षण उडान गर्ने तयारी रहेको विमानस्थल कार्यालयका प्रमुख बुढथापाले जानकारी दिए। तर बझाङ, बैतडी र डोटीमा उडानका लागि आवश्यक पर्ने पूर्ण भौतिक पूर्वाधार व्यवस्थापन नभएका कारण केही ढिलाई हुने देखिएको छ।

समिट एयरले अहिले धनगढी बाजुरा चाटर्ड उडान गर्दै आएको जनाउँदै छिट्टै परीक्षण उडान गर्ने जनाएको छ। तत्काललाई परीक्षण उडान र चार्टड उडान गरिएपनि विस्तारै साप्तहिक रुपमा कार्य तालिका अनुसार सबै जिल्लामा हवाई सेवा सञ्चालन गरिने समिटि एयरका सुदूरपश्चिम प्रतिनिधी हर्कबहादुर मल्लले बताए। उनले सम्भवः अबको एक हप्ता भित्रै धनगढी–बझाङ हवाई सेवा सञ्चालनका लागि परीक्षण उडान गरिनेछ। परीक्षणपछि तत्काल बाजुरामा जस्तै अन्य जिल्लामा समेत चार्टड उडान गरिनेछ भने छिट्टै भाडादर पनि निर्धारण गरी साप्ताहिक उडान थालिनेछ।

धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित हवाई उडान सेवा सञ्चालन भए आवातजावतमा सहजता हुने विश्वास गरिएको छ। त्यसँगै प्रदेशको राजधानीसँग पहाडी जिल्ला हवाई उडानमा जोडिएमा कृषि, पशुपालन लगायत अन्य व्यवसायलाई बजारीकरणमा समेत सहजता हुनेछ भने आर्थिक विकाससँगै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।