आइतबार सुदूरपश्चिम प्रदेशका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल, डडेल्धुरा अस्पताल र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ८९ को कोरोना परीक्षण भएकोमा १६ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका मात्रै १३ जना रहेका छन । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५ महिला, वडा नम्वर २ का तीन पुरुष, वडा नम्वर ५ र १३ का एक एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै टीकापुर नगरपालिकाका तीन जना, कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर १ का दुई जना र ठेगना नखुलेका एक जनालाई संक्रमण पुष्टि भएको हो सूचना अधिकारी श्रेष्ठले बताए । उता डडेल्धुरामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले पछिल्लो २४ घण्टामा एक सय ७७ जनाको परीक्षण गर्दा बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका आठ÷आठ जना र छबिसपाथिभारा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिए । यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको छ ।
एक सय ३३ जनाको कोरोना परीक्षण भएकोमा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ८ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । उनका अनुसार उनीहरु सबै अछामको रामारोशन गाउँपालिकाका हुन् ।
जिल्ला अस्पताल बैतडीमा स्थापना भएर सञ्चालनमा आएको पिसीआर प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । आइतबार सार्वजनिक रिपोर्ट अनुसार ६६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले जानकारी दिए । दशरथचन्द नगरपालिका ४ का ४३ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको उनले बताए ।
हालसम्मसंक्रमितको संख्या ६ हजार ८ सय नाघेको छ । योसँगै सुदूरपश्चिममा ६ हजार ८ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ५ हजार सात सय बढीले कोरोना जितेको दावी गरिएको छ भने १५ जनाको मृत्यु भएको छ ।