सुदूरपश्चिममा ८७८ जना संक्रिय संक्रमित, ५१ जना मात्रै अस्पतालको आईसोलेसनमा
2020/09/21, 11:01
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या आठ सय ७८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले आईतबार सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या आठ सय ७८ पुगेको छ ।

निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा चार सय ५१ जना संक्रिय संक्रमित अर्थात एक्टिभ केस रहेका छन्। डोटीमा एक सय १९, अछाममा ७६, बझाङमा ७३ र कञ्चनपुरमा ४० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । यस्तै बैतडीमा ६८, डडेल्धुरामा १२, बाजुरामा ९ र दार्चुलामा ३० जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

संक्रिय संक्रमित मध्ये ५१ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा १७, टीकापुर अस्पतालमा ६, महाकाली अस्पतालमा १३, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी दुई र डडेल्धुरा अस्पतालमा तीन जना संक्रिय संक्रमितको उपचार भईरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका पाँच हजार सात सय ४६ जनाले कोरोना जितेका छन् । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार ६ सय ७९ जना, डोटीका नौ सय २८ जना, अछामका नौ सय १२ जना, कञ्चनपुरका सात सय ९ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै बैतडीका तीन सय २६, बझाङका तीन सय ८८, बाजुराका चार सय ४२, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४६ जनाले कोरोना जितेको दावी गरिएको छ । प्रदेशभर अहिलेसम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।