सुदूरपश्चिम प्रदेशमा थप १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार कञ्चनपुरका १२ र बैतडीका दुई जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।
योसंगै प्रदेशमा पाँच हजार सात सय ८१ संक्रमितले कोरोना जितेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ८७ जना निको भएर घर फर्किएका छन् ।
यस्तै डोटीका नौँ सय ३४, अछामका नौँ सय १२ र कञ्चनपुरका सात सय २४ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ । बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ८८, बैतडीका तीन सय २८, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार नजिक पुगेको छ ।
सबैभन्दा बढि कैलालीमा दुई हजार एक सय २४, डोटीका एक हजार ६७, अछामका एक हजार १६, कञ्चनपुरका सात सय ७९, बाजुरका ६ सय ३०, बझाङका पाँच सय २०, बैतडीका तीन सय ९१, डडेल्धुराका तीन सय ४८ र दार्चुलाका ८९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १६ जनाको मृत्यु भईसकेको छ ।