सुदुरपश्चिममा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका तीन वटा अस्पतालका प्रयोगशालामा गरिएको परिक्षणमा थप ३९ जनामा कोरोना पुष्टि भएको हो ।कैलालीका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका १७ सहित २४ जनामा कोरोना पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा तीन सय ४९ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का ४ महिला र ६ पुरुष गरी १० जना, वडा नम्बर २ का चार पुरुष र वडा नम्बर १२ का एक महिला र दुई पुरुष गरी तीन जना संक्रमित रहेका छन् ।
यस्तै लम्कीचुहा नगरपालिकाका दुई महिला र दुई पुरुष गरी चार जना, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा बैतडी र डडेल्धुराका ११ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले बैतडीको पुर्चाीडी नगरपालिकाका नौँ जना, पाटन नगरपालिकाका एक जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुराका संक्रमितको भने मृत्यु भईसकेको भूषालले जानकारी दिए । उनलाई भारतमा कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । १२८ जनाको कोरोना परीक्षण भएकोमा ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका दुई दुई जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।