सुदूरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका ५ वटा प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा ६ सय २७ जनाको कोरोना परीक्षण भएको ४६ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका १७ सहित २४ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा तीन सय ४९ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का ४ महिला र ६ पुरुष गरी १० जना, वडा नम्बर २ का चार पुरुष र वडा नम्बर १२ का एक महिला र दुई पुरुष गरी तीन जनामा संक्रमण पुष्टि भएको हो । यस्तै लम्कीचुहा नगरपालिकाका दुई महिला र दुई पुरुष गरी चार जना, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । एक सय २८ जनाको कोरोना परीक्षण भएकोमा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका दुई÷दुई जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा बैतडी र डडेल्धुराका ११ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले बैतडीको पुर्चाैडी नगरपालिकाका नौँ जना, पाटन नगरपालिकाका एक जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।
उता जिल्ला अस्पताल बझाङमा कारोना प्रयोगशाला सञ्चालनमा आएको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले कोरोना परिक्षण प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याउन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे । प्रयोगशालमा दैनिक २ सय जनाको नमुना जाँच गर्न सक्ने क्षमता छ ।
भदौ २६ गते जिल्ला भित्रिएको पिसिआर जडान गर्ने इन्जिनियर बैतडीको प्रयोगशालामा व्यस्त हुँदा बझाङको प्रयोगशाला जडानमा केही ढिलो भएको थियो । यस्तै बझाङमा भएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ । ७७ जनाको कोरोना परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ३० पुगेको छ । संक्रमण पुष्टि भएका झण्डै पाँच हजार ८ सयले कोरोना जितेका छन् भने १६ जनाको मृत्यु भएको छ ।