कोरोना प्रभावितद्वारा व्यवसायका लागि आवेदन
2020/09/25, 2:26
 
corona

कञ्चनपुरको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक हजार ५०० बढी व्यवसायीले आयमूलक कामका लागि आवेदन दिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित व्यक्तिलाई आयमूलक काममा लगाएर स्वरोजगार बनाउने भनेपछि सो आवेदन परेको हो। 

प्रदेश सरकारले कोरोना महामारी प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउने भन्दै आवेदनका लागि २१ दिनको समयावधि दिएको थियो। बङ्गुर, बाख्रा, कुखुरा र माछापालनलगायतका व्यवसाय गर्न एक हजार दुई जनाले आवेदन दिएका छन्। पशु सेवा केन्द्रका प्रमुख डा पानसिंह ठगुन्नाले कञ्चनपुरका सबै पालिकामा आवेदन लिइएको बताउँदै सबै विवरण आउन बाँकी रहेको जानकारी दिए।

“पालिकामा आवेदन सङ्कलनको काम भइरहेको छ”, उनले भने, “आवेदन दिनेमा भारत र तेस्रो मुलुकबाट कोरोना प्रभावित भएर आएका बढी छन्।” कञ्चनपुरका नौवटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमा कृषितर्फ व्यवसाय गर्न चाहनेले आवेदन दिएको ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले ज्ञान केन्द्रमा ३३१ कोरोना प्रभावितले व्यवसाय गर्न आवेदन दिएको बताए।

“नगरपालिकामा कृषितर्फको आवेदन सङ्कलन भएको छ”, उनले भने, “सबैतिरको विवरण सङ्कलन हुँदैछ।” सो केन्द्रमा आएका आवेदनमा तरकारी र च्याउ खेती गर्न धेरैले इच्छा देखाएका छन्। मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन असोज ६ गतेसम्म समय दिएको थियो।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार फलफूल, तरकारी, च्याउ खेती, मौरी, भेडा, बाख्रा, बङ्गुरपालन, गाईभैँसी, माछा, स्थानीय कुखुराहाँस र अन्य मासुजन्य पन्छीपालन, नर्सरी, पुष्प व्यवसाय र अन्य गरी १० थरी कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ। 

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले कोरोना प्रभावितलाई स्वरोजगार बनाउन यहाँका ८८ वटै स्थानीय तह र जिल्लाका कृषि र भेटेरिनरीमा आवेदन दिन लगाइएको बताए। “हाम्रो प्रदेशमा कतिले आवेदन दिए त्यो सबैतिरको विवरण सङ्कलन हुँदैछ”, उनले भने, “सबै विवरण आउन चार÷पाँच दिन लाग्छ।”