४२ जनासँगै एकै क्वारेन्टाईनमा थिए कैलालीका तीन जना संक्रमित, १६ जनाको मात्रै भएको थियो परिक्षण
2020/05/23, 7:55
 
korona

कैलालीमा हिजो कोरोना पुष्टि भएका तीन जनासँग एकै क्वारेन्टाईनमा ४२ जना रहेको पाईएको छ । तीन जना कोरोना संक्रमितलाई एक सातादेखि अन्य ४२ जनासंगै एकै क्वारेन्टाईनमा राखिएको पाईएको हो ।

उनीहरु सवै जना एक हप्तादेखि जानकी गाउँपालिकामा रहेको सरस्वती माविको क्वारेन्टाईनमा रहेका छन ।  तीन जना संक्रमितसंगै अन्य ४२ जनालाई पनि एकै क्वारेन्टाइनमा राखिएकोमा उनीहरुमध्ये १६ जनाको मात्रै परिक्षण भएको छ । १६ जनाको मात्रै आरडिटी परीक्षण गरिएकोमा अव भने सबै जनाको परिक्षण गर्ने तयारी गरिरहेको जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले जानकारी दिईन् । 

गाउँपालिकाको वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । उनीहरु इटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएका थिए । वडा नम्वर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए । उनी भारतको महाराष्ट्रबाट फर्किएका थिए । वडा नम्वर ७ का दुई जना संक्रमित मध्ये एक जना इटहरी र एक जना बाँकेबाट फर्किएका हुन ।

इटहरीबाट आएका युवक बैशाख ३० गते जानकी गाउँपालिका पुगेका थिए भने अर्का सक्रमित युवक बाँकेको जानकी गाउँपालिका ३ बाट जेठ ३ गते कैलाली पुगेका थिए । संक्रमित तीनै जनालाई अहिले टीकापुर अस्पतालको आईसालेसनमा राखिएको छ ।