सन्दर्भ पर्यटन दिवसः नीतिमा पर्यटन, बजेट सधैं न्युन
2020/09/27, 9:32
 
tourism

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम तथा बजेट पुस्तिकामा पर्यटन शिर्षक उल्लेख छ । उपमहानगरपालिकाले पर्यटन विकासका लागि आर्थिक वर्ष २०७६÷७६ को नीतिलाई निरन्तरता दिने गरि २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाका प्रमुख टेकराज भट्टले भने– नीतिमा पर्यटन क्षेत्रको विकासका राम्रा कार्यक्रम छन््, तर बजेट विनियोजन गरिएको छैन । उनले उपमहानगरपालिकाले पर्यटन क्षेत्रका नाममा डल्लो रुपमा पाँच लाख रुपैयाँ मात्र विनियोजन गरेको बताए । 

धनगढी उपमहानगरपालिकाले खोलानालाको अतिक्रमित जग्गामा साइकल पथ तथा हरियाली पार्क निर्माण गर्ने योजना आर्थिक वर्ष २०७६÷७७ मा अघि सारेको थियो । तर, त्यस समयमा कुनै पनि काम अघि बढेन । उनले भने– साइकल ट्रयाक खोल्ने नीतिमा उल्लेख छ, तर बजेट छैन । उनले आर्थिक वर्ष २०७६÷७७ मा पनि बजेट नहुँदा कार्यान्वयन हुन नसकेको बताए ।

उपमहानगरपालिकाले कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक वन भित्रबाट बग्ने कैलाली खोला सहितको क्षेत्रलाई संरक्षण गरी सामुदायिक वनलाई स्थानीय उद्यान बनाउनुका साथै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसको वरिपरि साइकल ट्रयाक निर्माण गर्न जनाइएको छ । वडा नम्बर ३ को सामुदायिक वन क्षेत्रदेखि शिवपुरीधाम, जाखोर ताल हँदै बेहडाबाबासम्म विभिन्न मठ मन्दिर जोड्दै सांस्कृतिक साइकल ट्रयाक निर्माण गरिने छ’ उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भने ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर ४, ५, ६, १३ को मानव बस्तीको बीचमा पर्ने ऐलानी, पर्ती, सार्वजनिक जग्गामा रहेको वनलाई वृहत धनगढी पार्क निर्माणका लागि अघि बढाइने उल्लेख छ । त्यस्तै, उपमहानगरपालिकाले सार्वजनिक नीजि साझेदारी अवधारणा अनुसार भ्यू टावर तथा घण्टाघर निर्माणलाई पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नेतुवा ताल, जोखरतार, तिल्केताल, बेलाताल, वेहडाबाबाताल, चौफेरीताल, सुन्दरीताल र नथनीताल, कथनीताल लगायत विभिन्न वडामा रहेका तालहरूलाई पर्टकीय क्षेत्रको रुपमा विकास गर्ने नीतिलाई पनि निरन्तरता दिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को आर्दश सामुदायिक वनमा जडिवुटी खेतीको प्रारम्भ गरि सोही वनमा पिक्निकस्थल निर्माण गर्ने कार्यको थालनी गर्ने, पर्यटन प्रवद्र्धनका लागि होमस्टेको नीति प्रवद्र्धन गर्ने, भादा होमस्टेलाई थप प्रवद्र्धन गरि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक केन्द्रको रुपमा विकास गर्ने नीतिलाई निरन्तरता दिएको छ ।