कैलालीका तीन जना कोरोना संक्रमितको गाउँ पुरै सिल
2020/05/23, 11:54
 
korona

कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएपछि प्रशासनले कैलालीको टीकापुरमा लकडाउनमा कडाइ गरेको छ । जानकी गाउँपालिकासँग टीकापुर जोडिएको छ । जानकीमा सङ्क्रमित देखिएपछि टीकापुरमा थप जोखिम बढेको छ ।

टीकापुर पनि जोखिममा रहेको भन्दै टीकापुर बजार बन्द गरिने तयारी प्रशासनले गरेको छ ।  टीकापुर बजारमा मानिसकोे आवतजावत पूर्णरुपमा बन्द गरिने टीकापुरका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । सङ्क्रमित आएर गाउँमा समेत बसेकाले जानकी गाउँपालिका वडा नम्बर ७ को मोतीनगर र जवलपुर गाउँ सिल गरिएको उनले बताए । 

संक्रमण पुष्टि भएका जानकीको मोतीनगर र जवलपुरका दुई युवामध्ये मोतीनगरका युवाको टीकापुर र मोतिनगरमा धेरै मानिससँग सम्पर्क भएको देखिएको भट्टले बताए । ‘सम्भावित जोखिम न्यूनीकरणका लागि लकडाउनमा कडाइ गर्न थालेका छौँ’, प्रहरी नायब उपरीक्षक भट्ट भन्छन, ‘प्रहरी र स्वास्थ्यकर्मी मिलेर सङ्क्रमितको सम्पर्कमा आएका मानिसको खोजी गरी उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ ।’

सङ्क्रमतिमध्ये बाँकेबाट फर्केका संक्रमित युवा अरु चार जना सहित कोहलपुरबाट एम्बुलेन्समा टीकापुर आएको बुझिएको छ । उनी घर पुगेपछि पनि स्थानीय युवासँग तीन दिन भलिबल खेलेकोे, गाउँमा आफन्त र साथीभाइसँग घुलमिल भएको र टीकापुर बजारमा समेत साथीसँग भेटघाट गरेको बुझिएकाले उनीहरु सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ । सङ्क्रमित तीनै जनाको टीकापुर अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरु भएको छ ।

संक्रमित सबैको अवस्था सामान्य छ । टीकापुर अस्पतालमा १२ शैयााको आइसोलेसन कक्ष छ । अवस्था जटिल भए बाहिर पठाउन सकिने भए पनि अहिले टीकापुरमै उपचार थालिने अस्पतालका डाक्टर जितेन्द्र कँडेलले बताए । जानकी गाउँपालिकाको क्वारेन्टिनमा ४५ जना थिए । तीन जनामा सङ्क्रमण देखिएपछि क्वारेन्टिनमा बसेका, उनीहरुको सुरक्षा, रेखदेखमा खटेका सबैको स्वास्थ्य परीक्षण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले जानकारी दिए ।

उनले भने, “रेन्टिनमा प्रत्यक्ष खटेका स्वास्थ्यकर्मी र स्वयंसेवक सेल्फ क्वारेन्टिनमा पठाएका छौँ, संक्रमण देखिएपछि क्वारेन्टिनमा बसेका अन्य नागरिक पनि त्रसित छन ।” रासस