बझाङ चैनपुर स्थित जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल हुँदै थियो, जहाँ सम्झनाका हजुरबा गोरखबहादुर कामी पनि थिए । ‘हामी गरिब छौँ, तर मेरी नातिनीको हत्यारा समातिएर पनि उम्कने हुन् कि भन्ने डर छ, जसरी हुन्छ न्याय दिनुहोस्,’ उनी हात जोडेर गुहार माग्दै थिए । तर, यसो भन्दाभन्दै उनी भिडकै बीचमा भक्कानिए । आँशु पुछे र एकछिनपछि आंशकापूर्ण भावमा भने, ‘निर्मला पन्त बलात्कार र हत्याको घटनामा पनि दोषी उम्किए, सजाय पाएनन्, मेरी नातिनीको पनि त्यस्तै गुपचुप गर्दिन्छन् कि !’
बोहरा गाउँका टाढाबाठा र आफूहरूभन्दा धनी र पहुँचवाला भएका कारण प्रहरी र सरकारले न्याय नदिने हो कि भन्ने आशंका गोरखबहादुरको परिवारमा छ । उनको गाउँमा धेरै खेतीपाती गर्ने जमिन छैन । भएको आम्दानीले परिवारको दुई छाक टर्दैन । गोरखबहादुरले आरनमा हातहतियार तिखारेको आम्दानीले परिवार पालिएको छ । सम्झना गोरखबहादुरकी सबैभन्दा ठूली सहयोगी, ठूली नातिनी थिइन् ।
सम्झनाका बुबा (३५) बिजुली कामी पहिले पनि कामका लागि भारत जान्थे । ठूलो परिवारको आर्थिक बोझ धान्न नसकेपछि उनी चार वर्षदेखि परिवारै लिएर भारतको बैंग्लोर बस्न थाले । ३२ वर्षे श्रीमती धौली कामी, छोरो र दुई छोरी उनीसँगै थिए । गाउँको घरमा ठूला तीन छोरी, बुबाआमा र बहिनी बस्छन् । ‘मेरी फूल जस्ती सम्झनालाई राक्षसले चुँडिदियो, ऊ मेरी सहारा थिई, घरको काम मात्रै होइन, मेलापातको काम पनि उसले आधा उकास्थी,’ गोरखबहादुर भन्छन् । उनी आफू बिरामी हुँदा पानी दिने नातिनी गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सक्दैनन् । ‘केही परिहाले नातिनी छँदै छ भनेर ढुक्क हुने दिन गए, राक्षसले हाम्रो खुसी चुँडिदियो,’ उनी भन्छन् ।
बोलाए मात्रै बोल्ने स्वभावकी थिइन् सम्झना । कक्षा ६ मा पढ्थिन् । उनको पढाइ पनि राम्रो थियो । बिजुलीले गरिबीका कारण ६ कक्षामाथि पढ्न पाएनन् । ‘छोरी घरमै हुँदा पढ लेख गर्छे, आफूले गर्न पाइनँ भनेर यतै छाडेको थिएँ, तीन जना एउटै स्कुल पढ्थे,’ उनी भन्छन्, ‘तर, अचानक यस्तो खबरले मरुँ कि मारुँ ? भयो ।’ अवोध छोरीको हत्या भएको थाहा पाएपछि कोरोनाका कारण रोजगारी गुमाएका बिजुली भोलिपल्टै गाउँ फर्किए । तर, आमा धौली गाउँ आउन पाइनन् ।
साहुले ऋण नतिरे गाउँ आउन नदिने भनेपछि छोरीको न्यायका लागि आफू घर आएको उनी बताउँछन् । ‘गाउँ त आएँ, तर आफ्नै छोरीको लास समेत हेर्न पाएको छैन, क्वारेन्टाइनमा बसेको छु,’ उनले भने । घर फर्किंदा मात्रै ३० हजार रुपैयाँ सकिएको उनले बताए । नेपाल फर्किएपछि उनले जिल्लाका नेतादेखि सांसदसम्मलाई फोन गरेर दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन् । ‘पहल गर्छु सबैले भनेका छन्, तर अहिलेसम्म दोषी को हो ? भनेर प्रहरीले किन भनिरहेको छैन,’ उनी भन्छन् ।
उनले भने, ‘नेपालमा फाँसीको सजाय छैन, उसका बाआमालाई त छोरा आउँला भन्ने आस त हुने नै भयो, मेरी त छोरी सधैँलाई गई, यस्ता अपराधीलाई सरकारले कस्तो सजाय दिने हो ? तपाईंहरू नै भन्नुस् ।’ उनले छोरीलाई जसरी पनि न्याय दिनुपर्ने बताए । ‘मेरी छोरीलाई न्याय दिलाइ दिनुप¥यो, अपराधीलाई कडाभन्दा कडा कारबाही गरिदिनुस्, मलाई राहत चाहिएको छैन,’ उनले भने । सम्झनाको ‘हत्या’ ले उनको परिवार मात्र होइन, खिकाला गाउँ नै शोकमा डुबेको छ । घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाहीका लागि प्रहरीलाई दबाब दिन खिकालावासी सदरमुकाम चैनपुर पुगेका छन् ।
घटनामा संलग्न बोहरा सार्वजनिक
१२ वर्षीय बालिकाको बलात्कारपछि हत्यामा संलग्न २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । बझाङ मष्टा गाउँपालिका २, खिकालाकी १२ वर्षीय सम्झना कामीको ७ असोजको साँझ बलात्कारपछि हत्या भएको थियो । घटनामा संलग्न रहेको आरोपमा ८ असोजमा पक्राउ परेका बोहरालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बालिकाका हजुरबा गोरखबहादुर कामीले त्यही दिन छिमेकी बोहरा विरुद्ध किटानी जाहेरी दिए ।
बोहराले गत २९ साउनमा समेत छिमेकी १३ वर्षीय बालिकाको बलात्कार गरेका थिए । तर, त्यो घटना पञ्चायत बसेर गाउँमै मिलाइएको थियो । अहिले बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि ती बालिकाले समेत उजुरी दिएकी छिन् । ‘पहिलो घटनामा उसको संलग्नता देखिन्छ, प्रमाण संकलन भइरहेका छन्,’ बझाङका प्रहरी प्रमुख डिएसपी रूपक खड्का भन्छन्, ‘सम्झना हत्याका विषयमा पनि थप अनुसन्धान भइरहेको छ ।’ एउटै गाउँमा छोटो अवधिमै दुई वटा जघन्य अपराध भएकाले प्रहरीले संवेदनशील भएर मुद्दाको अनुसन्धान गरिरहेको डिएसपी खड्काले बताए । बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भने दुवै घटनामा बोहराको संलग्नता रहेको बताए ।
‘दुवै घटनामा बोहराको संलग्नता छ, उसले स्विकारिसकेको छ, बाँकी प्रमाण संकलन र अनुसन्धानको काम प्रहरीको हो,’ उनले नयाँ पत्रिकासँग भने । परिवारले सम्झनाको शव बुझेका छैनन् । मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ ।
पहिले जोगाएपछि जघन्य अपराध
बोहरा चोरी, लुटपाट र कुटपिटका थुप्रै घटनामा संलग्न थिए । तर, ती घटनाको उजुरी कहिल्यै परेन । मौखिक उजुरी परे पनि प्रहरी र स्थानीयवासीले बसेर मिलाउँथे । माफ मगाएर छाडिदिन्थे । २९ साउनमा खिकालाकै १३ वर्षीय बालिकामाथि छिमेकी २० वर्षे राजेन्द्र बोहराले बलात्कार गरे । साँझ ५ बजे घट्ट पिस्न गएकी बालिकालाई उनले जबरजस्ती गरेको घटना सार्वजनिक भएपछि पञ्चायत बस्यो । उनी विरुद्ध प्रहरीमा उजुरी गर्न बोहराहरूले दिएनन् । पीडित परिवारले पनि हिम्मत गरेन । स्थानीय एक व्यक्ति भन्छन्, ‘मैले आफैँ फोन गरेर वडाध्यक्षलाई भनेको हुँ, तर उनले पनि वास्ता गरेनन् ।’
घटना त्यतिकै सामसुम पार्ने सहमति भयो । ३१ साउनमा राजेन्द्रले बालिकालाई पाँच सय रुपैयाँ दिएर माफी मागे । सहमति थियो, ‘गर्भ बस्यो भने जिम्मा लिने, अन्यथा बाहिर सार्वजनिक नगर्ने ।’ तर, त्यसको ३८ दिन नबित्दै त्यही समयमा राजेन्द्रले अर्को बलात्कार र हत्या गरेको प्रहरीले जनाएको छ । गाउँमा पुग्न वडा कार्यालयबाट आधा घन्टा मात्रै लाग्छ । वडाध्यक्ष शेरबहादुर खड्का भने आफूलाई जानकारी नभएको बताउँछन् । ‘यस्तो अपराध किन लुकाइयो ? भनेर सोधीखोजी गर्दै छु, वेलामा छानबिन गरेको भए अहिले यो घटना हुने थिएन,’ उनी भन्छन् ।
सम्झनाको बलात्कार भएको सिम मन्दिर ः दलितले छिर्न पाउँदैनन्
सदरमुकाम चैनपुरदेखि चार घन्टा पैदल दूरीमा रहेको खिकाला गाउँमा १६ घर बोहरा र ३७ घर दलित बस्छन् । गाउँको दक्षिणपट्टी लाछीगाड खोला छ । खोलाको काठेसाँघु तरेर उकालो लागेपछि सिम देवताको मन्दिर पुगिन्छ । मन्दिरमा वर्षमा दुई पटक भव्य पूजा लाग्छ । पूजामा बाहिर एकापट्टि बसेर गाउँका दलितले बाजा घन्काउँछन् । गाउँका बाहुल्य दलितहरूले मन्दिरमा बाहिरैबाट पूजाआजा गर्छन् । बोहराहरूको बस्ने ठाउँ छुट्टै छ ।
अझ मन्दिरको ‘गजुर’ भएको ठाउँमा त दलितहरू जानै मिल्दैन । दलितले मन्दिरमा बोहराहरूसँगै पूजाआजा गर्न पाउँदैनन्, त्यसो गरे अशुभ हुन्छ, छोइछिटो लाग्छ । तर, त्यही मन्दिरभित्र १२ वर्षीय अबोध बालिका सम्झना कामीको बलात्कार र हत्या भयो । बलात्कारीसँग संघर्ष गर्दा उनको शरीर छियाछिया भयो त्यही मन्दिरभित्र । मन्दिरमै बग्यो उनको रगत र त्यहीं गयो उनको अन्तिम श्वास पनि ।
मुन्द्री नदिँदा बलात्कारपछि हत्या
एउटै स्कुलमा पढ्ने छिमेकी राजेन्द्र बोहराले एक दिन सम्झनालाई कानका मुन्द्री मागे । तर, उनले दिइनन् । उनले धम्क्याए, नदिए कुट्ने, पिट्ने र मार्ने भनेका थिए । त्यस लगत्तै उनले हजुरबा गोरखबहादुरलाई भनेकी थिइन्, ‘मलाई डर लाग्न थालेको छ, त्यो राजेन्द्रले यसो भनिरहेको छ, म मुन्द्री फुकालेर राख्छु ।’ तर, गोरखबहादुरले फुकाल्न दिएनन् ।
उनी भन्छन्, ‘मैले फुकाल्नु पर्दैन, म त्यसलाई भेटेको वेला सम्झाउँछु भनेको थिएँ, म उनीहरूको घरमा पनि गएको हुँ, तर उसलाई भेटिनँ, सम्झाउन नपाउँदै मेरी नातिनीको ज्यानै लिइदियो ।’ राजेन्द्र धम्क्याएको करिब साता मात्रै बित्दै थियो । कुरा ७ असोजको हो । दिनभरि बाख्रा चराएर गलेकी सम्झना दिउँसो करिब ४ बजे गोठमा गोरुलाई घाँस काट्न हिँडेकी थिइन् । उनलाई हजुर आमाले नजाऊ पनि भनिन् । तर, उनी मानिनन् ।
हातमा एउटा खाली डोको, नाम्लो र हँसिया लिएर खोलापारिको गोठतिर उनी जाँदै गर्दा हजुर आमाले घरबाट देखिने पारीको घुम्तीसम्म पनि देखेकी थिइन् । घरबाट गोठमा पुग्न करिब आधा घन्टा लाग्छ । बीचमा बाटोबाट करिब एक सय मिटरको दूरीमा सिम देवताको मन्दिर छ । मन्दिरको वरिपरि सल्लाघारी छ, घरहरू छैनन् । एकातर्फ खोला र वरिपरि खोल्सी छन् । त्यहाँ मान्छे कराएको, चिच्याएको पनि वरिपरि सुनिने अवस्था छैन । स्थानीय शिक्षक शेरबहादुर ओखेडा भन्छन्, ‘हजुर आमाले देखेको घुम्तीबाट गोठ पुग्न नपाउँदै उनीमाथि आक्रमण भएको हुनुपर्छ ।’ गोठमा पहिल्यै सम्झनाकी फूपू पनि गएकी थिइन् । उनैले गोरु बाँधेर घाँस हालेर घर फर्किइन् । तर, सम्झना फर्किइनन् । फूपू फर्किएपछि थाहा भयो, सम्झना त गोठमा पुगेकै छैनन् ।
गाउँमा हल्लीखल्ली मच्चियो । सुरुमा गाउँभरि खोजी भयो । कतै नभेटिएपछि मन्दिरमा गइन् कि ? भन्ने प्रश्न उठ्यो । उनको नाम्लो र डोको मन्दिर नजिकै खोला छेउमा भेटियो । ‘हामीले पनि ठूलै मान्छे त जाँदैनन्, यति राति त्यति सानी केटी त्यहाँ किन जान्छे भन्ने सोच्यौँ,’ शिक्षक ओखेडा भन्छन्, ‘करिब ८ बजेको थियो, हामीले मन्दिर पुगेर हेर्दा त्यहाँ उसको लास पो भेटियो ।’ अर्धनग्न शरीर । यौनांगबाट रगत बगिरहेको । टाउको, अनुहार, जिउभरि सबै रक्ताम्मे । शरीरभरि चोटैचोट थियो । कानमा लगाएका मुन्द्रा थिएनन् । मन्दिरभित्रै बलात्कारीसँग घम्साघम्सी परेका संकेतहरू प्रस्ट देखिएका थिए । पीडाले छट्पटिँदा बनेका डोबहरू छर्लंग छुट्टिन्थे ।
‘मुन्द्रा मात्रै लगेको भए पनि हुन्थ्यो, अरू धेरैको मुन्द्रा र पैसा चोरेकै हो, अहिले पनि मुन्द्रा मात्रै लगेको भए पनि त हुन्थ्यो,’ गहभरि आँसु पार्दै गोरखबहादुर भन्छन् । राति १२ बजे इलाका प्रहरीको टोली र उज्यालो नहुँदै जिल्ला प्रहरीको डिएसपी खड्का सहितको अनुसन्धान टोली घटनास्थल पुगेर शवको मुचुल्का उठायो । सम्झनालाई मन्दिरभित्र लगेर बलात्कारपछि कुटीकुटी मारिएको प्रहरी बताउँछ । घटनाको सबै दृश्य हेर्दा बालिकाको बलात्कारपछि नै हत्या भएको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्टले पनि त्यसलाई पुष्टि गरेको छ । शव सदरमुकाम ल्याएपछि ८ असोजमै पोस्टमार्टम भयो । तर, शव उठेको छैन । पीडितले न्याय पाउने अवस्था नभएसम्म शव नउठाउने भन्दै सदरमुकाममा धर्ना दिइरहेका छन् ।
दलितलाई अझै धाकधम्की
देशमा जातीय विभेद गरे कारबाही हुने कानुन छ । तर, खिकालामा अझै पनि गैरदलितका अगाडि दलितले बोल्न डराउँछन् । यतिसम्म कि बलात्कारका घटना समेत गाउँमै मिलाउन दबाब दिन्छन् । मिलापत्र गराउँछन् । गैरदलितले गर्ने कुटपिट र गालीगलौजका घटना सामान्य मानिन्छन् । त्यसको न कुनै उजुरी पर्छ, न कुनै कारबाही । गाउँको मष्टा आधारभूत विद्यालयका प्रधानाध्यापक वीरेन्द्र अधिकारी भन्छन्, ‘दलितले गैरदलितका विरुद्ध उजुरी गर्न सक्ने अवस्था नै छैन, त्यसैले धेरै कुटपिट, गालीगलौज, चोरी र लुटपाटका घटना प्रहरीसम्म पुग्दैनन्, दलितले धाक धम्की सहेरै बसेका छन् ।’ गाउँमा धेरै पढे लेखेका मान्छे छैनन् । मष्टा स्कुलमा करिब १७० विद्यार्थी छन् । तर, धेरै विद्यार्थी नियमित विद्यालय आउँदैनन् ।
प्रधानाध्यापक अधिकारी भन्छन्, ‘गाउँमै विद्यालय छ, धेरैको पढ्नुपर्छ भन्ने सोच अझै पनि छैन, पूरै गाउँमा अहिले पनि एसएसली उत्तीर्ण गर्नेको संख्या १० कट्दैन होला ।’ गाउँबाट करिब आधा घन्टामा माध्यमिक तहको विद्यालय समेत छ । ‘बझाङमा दलितमाथि हुने अन्यायको कुनै सीमा र व्याख्या छैन,’ सांसद आशाकुमारी विक भन्छिन्, ‘दलितमाथि ठूलो अन्याय छ, तर न्याय पाउने अवस्था छैन, दलितलाई कानुनी ज्ञान छैन, उजुरी गर्ने पहुँच छैन । यस्ता धेरै घटनामा उजुरी नै पर्दैनन्, प्रहरीले पनि वास्ता गर्दैन ।’
अपराध गरेर प्रहरीले थाहा पाए पनि प्रहरी पुग्दा अपराधी फरार भइसकेका हुन्छन् । आर्थिक वर्ष ०७६÷७७ मा ११ वटा बलात्कार भए । ती अधिकांशमा दलित पीडित छन् । तर, पीडक भने उजुरी पर्ने बित्तिकै भारत छिर्छन् । गाउँ फर्किंदैनन् । जिल्ला प्रहरीका अनुसार ३ असार, ०७५ मा तलकोट गाउँपालिका–२, जनैनाकी १३ वर्षीय बोल्न, हिँड्न नसक्ने दलित बालिका बलात्कृत भइन् । बालिकाका बुबा गाउँका ठूलाबडालाई नसोधी किन उजुरी गर्नु भनेर सोधपुछमा लागे । तर, बलात्कारी फिटु कुँवर भोलिपल्टै फरार भए ।
पीडितले प्रहरीमा उजुरी दिए पनि कुँवर पक्राउ परेनन् । कोरोनाका कारण रोजगारी गुमेर ज्यानै जाने अवस्था सिर्जना भएपछि ४४ वर्षीय कुँवर गाउँ फर्किए । उनलाई ११ भदौ, ०७७ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाका बुबा भन्छन्, ‘मेरी अपांग छोरीमाथि जबर्जस्ती ग¥यो, अहिले पक्राउ गरिएको छरे, मेरो कोही छैन, मैले पैसा पनि खर्च सक्दिनँ, सरकार छ भने मलाई न्याय देऊ ।’ पक्राउ परेको कुँवरलाई प्रहरीले अदालतमा बुझाएको खबर नयाँ पत्रिका दैनिकले लेखेको छ ।