६ महिनादेखि बन्द रहेका पर्यटकीय क्षेत्र सञ्चालन गर्ने तयारी
2020/10/02, 12:56
 
park

छ महिना लामो बन्दाबन्दीले थला परेको पर्यटन क्षेत्रलाई सञ्चालन गर्न स्थानीय तहले काम थालेका छन्। कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेदेखि गरेको बन्दाबन्दीका कारण बन्द पर्यटन क्षेत्रमा स्थानीय तहले आन्तरिक पर्यटकका लागि आवश्यक पूर्वाधारको मर्मतसम्भारसहितका काम शुरु गरेका हुन्।

कैलालीका पूर्वी तथा दक्षिण पूर्वी क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रमा बन्दाबन्दी खुला भएसँगै सार्वजनिक यातायातका साधन शुरु भएपछि स्थानीय नागरिक, होटल व्यवसायी पनि पर्यटकीय क्षेत्र सञ्चालन गर्नुपर्ने भनी स्थानीय सरकारसँग समन्वयमा जुटेका छन्।

टीकापुर नगरपालिकास्थित टीकापुर उद्यान छ महिनादेखि पूर्णरूपमा बन्द छ। नयाँ वर्षका समयमा आन्तरिक पर्यटकको भीड थेग्न नसक्ने अवस्था रहने टीकापुर उद्यान यस वर्ष सुनसान रह्यो। वर्षभरि आन्तरिक पर्यटकको भीडभाड रहने उद्यानको प्रवेशद्वार अझै खुला भएको छैन। उद्यानका वनस्पति पतझडमा परिणत भएका छन्। 

उद्यानमा आन्तरिक पर्यटक आउने गरे  पनि प्रवेशद्वार बन्द हुँदा त्यहाँबाटै पर्यटक फर्कने गरेको उद्यान व्यवस्थापनमा खटिएका कर्मचारी विनोद चौधरी बताउँछन्। नगरपालिकाको आन्तरिक राजश्वको मुख्य हिस्सा ओगट्ने टीकापुर उद्यान आफैँमा पनि टीकापुर क्षेत्रको गौरव हो। “चैत ११ गतेदेखि ढोका बन्द छ। केही आन्तरिक पर्यटक आउने गरेका छन्  तर हामी तिनलाई प्रवेशद्वारबाटै फर्काइदिन्छौँ”, चौधरीले भने, “कार्यरत कर्मचारी नियमितरूपमा उद्यानमा आउँछौँ र, फर्कन्छौँ।”

सरकारले पर्यटकीय क्षेत्र खुला गर्ने तयारी गरेसँगै टीकापुर नगरपालिकाले पनि पर्यटकीय क्षेत्रको मर्मतसम्भारको काम शुरु गरेको  छ। लामो समयदेखि उजाड बन्दै आएको टीकापुर उद्यानमा ४० कामदारले  सरसफाइका काम गर्दै आइरहेका छन्। “हामीले सरसफाइको कामलाई निरन्तरता दिएका छौँ”, चौधरीले भने, “नगरपालिकाले टिकट खुला गर्ने आदेश नदिएसम्म सरसफाइ भए पनि अवलोकनका लागि कसैलाई उद्यानभित्र प्रवेश गराउन सकिने अवस्था छैन।”

आर्थिक वर्ष २०७५/७६ मा टीकापुर उद्यानले पर्यटक प्रवेश गरेको टिकटवापत करीब रु ४८ लाख राजश्व सङ्कलन गरेकामा गत वर्ष करीब रु ३६ लाख मात्र राजश्व सङ्कलन भएको जनाएको छ। त्यसैगरी पर्यटकका लागि महत्वपूर्ण मानिने डल्फिन क्षेत्रमा पनि पर्यटकको आवागमन बढ्न थालेको छ। 

वर्षायामका समयमा बढी भीडभाड हुने डल्फिन क्षेत्रमा गत वर्ष जस्तो पर्यटकको चहलपहल देखिएको छैन। डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बन्दाबन्दीका समयमा पनि फ्रान्स, नेदरल्याण्डस, बेलायत र  अमेरिकाका पाँच पर्यटकले डल्फिन क्षेत्रको अवलोकन गरेको बताए। “गत वर्ष ४० विदेशी पर्यटक डल्फिन क्षेत्रको अवलोकनका लागि आएका थिए”, अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “यस वर्ष कोरोनाका कारण आन्तरिक पर्यटक अवलोकनका लागि आए पनि विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ।”

कन्द्रा, पथरैया, मोहना र काँढा नदीको सङ्गमस्थल डल्फिन क्षेत्रमा यस वर्ष पानीको बहाव बढेसँगै गत वर्षको तुलनामा धेरै डल्फिन देखिएको अध्यक्ष ढुङ्गाना बताँछन् “गत वर्ष ४० देखि ४५ वटा डल्फिनको गणना गरेका थियौँ”, ढुङ्गानाले भने, “यस वर्ष १३ बच्चासहित ६० वटा डल्फिन गणना भएको छ।”

सुदूरपश्चिमको मुख्य प्रवेशद्वारका रूपमा रहेको कर्णाली चिसापानीमा पनि आन्तरिक पर्यटक बढ्न थालेका छन्। लामो समय बन्दका कारण व्यापार, व्यवसाय ठप्प भएको चिसापानी क्षेत्रमा व्यापारी पुरानै अवस्थामा फर्किने विश्वासमा छन्। 

होटल व्यवसाय गर्दै आएका प्रवीण शाहले कोरोनाको त्रासले सबै क्षेत्र बन्द गर्नुभन्दा कोरोनासँग लड्न सिक्नुपर्ने बताए। “कोरोनाले अधिकांश क्षेत्र चौपट भएका छन्। अझै बन्द भए त्यसलाई थेग्न सक्ने अवस्था छैन”, शाहले भने, “सुरक्षाका मापदण्ड अपनाएर सबै क्षेत्रलाई चलायमान बनाउनुको विकल्प छैन। सरकारले पर्यटकीय गन्तव्यका लागि विशेष प्याकेज ल्याउन आवश्यक छ।”

टीकापुर –७ का वडाध्यक्ष रामलाल डगौरा थारूले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने काममा स्थानीय सरकार जुटेको र विस्तारै सबै क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन आवश्यक रहेको बताए। उनका अनुसार सत्तीमा रहेको पदमप्रकाशेश्वर मन्दिर, बिपी कुञ्ज, ओजहुवा ताललगायत पर्यटकीय गन्तव्यलाई पुनःसञ्चालनका लागि प्रक्रिया शुरु भएको छ।

डल्फिन क्षेत्रमा  घडियाल र मगर गोही

डल्फिन क्षेत्रमा यस वर्ष घडियाल र मगर गोहीसमेत फेला परेका छन्। विगत वर्षमा डल्फिन मात्र देख्न पाइने उक्त क्षेत्रमा लोपोन्मुख घडियाल पनि देखिन थालेपछि त्यसको संरक्षणमा स्थानीय संरक्षणकर्मी जुटेको संरक्षण नेपालका महासचिव जयप्रसाद ढुङ्गानाले बताए।

“यसअघिका वर्षहरुमा डल्फिन मात्र देखिन्थे तर यस वर्ष घडियाल र मगर गोही पनि देखिएका छन”, महासचिव ढुङ्गानाले भने, “यस वर्ष अत्यधिक वर्षा भएकाले पनि कर्णाली नदी हुँदै घडियाल र मगर गोही आएका हुन सक्छन्। यो पर्यटकका लागि थप आकर्षण बन्ने भएको छ।”