धनगढीबाट मन्त्री भट्टराई सहित १६ जना यात्रु लिएर उड्यो जहाज
2020/10/03, 12:36
 
plane

संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई सहितका १६ जना यात्रु लिएर धनगढीबाट डोटीका लागि जहाज उडेको छ।धनगढी–डोटी हवाई उडान सेवाको परीक्षण उडानका लागि मन्त्री भट्टराई सहितको टोली डोटीका लागि समिट एयरको जहाज उडेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

डोटीपछि आजै बैतडी र बझाङमा समेत परीक्षण उडानको उद्घाटन गर्न कार्यक्रम तय भएको छ। परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

धनगढी विमानस्थलका प्रमुख बुढथापा अहिले डोटीमा छन्। बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको हो।

अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ। सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ। बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ।