बाजुराको कवाडी खोलामा बेपत्ता ५ जना अझै भेटिएनन् 
2020/10/03, 12:44
 
death

बाजुराको हिमाली गाउँपालिका(५ कवाडी खोलामा बगेर बेपत्ता भएका पाँच जना शनिबारसम्म भेटिएका छैनन् । एकै परिवारका उनीहरू शुक्रबार बेपत्ता भएका थिए । सुरक्षाकर्मी र स्थानीय उनीहरूको खोजीमा लागे पनि शनिबार बिहानसम्म नभेटिएको बिच्छ्याँ प्रहरी चौकीले जनाएको छ । 

‘शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरी सहित आमा बगेर बेपत्ता भएका थिए । उनीहरूको खोजी निरन्तर गरिरहेका छौँ । तर, अहिलेसम्म भेटाउन सकेका छैनौँ,’ बाजुराका प्रहरी नायब उपरीक्षक मदनजित महराले भने, ‘कवाडी खोलाबाट बगेर नजिकै रहेको कर्णाली नदीमा मिसिएको हुन सक्ने हुँदा त्यहाँ पनि खोजेका छौँ ।’ 

खोलाले बगाएर बेपत्ता हुनेमा कवाडी गाउँका धर्म नेपालीकी श्रीमती सत्ता नेपालीलगायत उनकी छोरी पाँच वर्षकी छोरी आरती, चार वर्षकी सन्तोषी, एक वर्षीया छोरी किस्मती र दुई वर्षीय छोरा सम्मान रहेका छन् ।  सोही खोलामा बगेर दुई महिना अघि एक बालिका बगेर बेपत्ता भएकी थिइन् ।