मझगाउँ विमानस्थलको प्राधिकरणको टोलीद्वारा निरीक्षण
2020/10/05, 8:24
 
aiport

नागरिक उडड्यन प्राधिकरणको प्राविधिक टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँस्थित बन्द विमानस्थलको धावन मार्गबारे जानकारी लिनका लागि आज स्थलगत निरीक्षण गरेको छ। प्राधिकरणको धनगढी विमानस्थल आयोजना सुपरीटेन्डेन्ट इन्जिनीयर राजन श्रेष्ठसहित पूर्ववरिष्ठ अधिकारीसहितको टोलीले विमानस्थल निरीक्षण गरेको हो।

प्राधिकरणको धनगढी विमानस्थल आयोजना प्रमुख श्रेष्ठले विमानस्थलको धावनमार्गको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षण गरिएको बताए। “विमानस्थल अवतरण गर्नका लागि मैदानको अवस्था कस्तो रहेको छ भन्ने बारे जानकारी लिनका लागि निरीक्षण गरेका छौँ”, आयोजना प्रमुख श्रेष्ठले भने “जहाज अवतरणका लागि एक हजार ५२५ मिटरको मैदान चाहिन्छ । त्यो भए नभएको बारे जानकारी लिइएको छ।”

गत वर्ष प्राधिकरणले विमानस्थल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गराएको थियो। त्यही अध्ययनले तत्काललाई एक हजार ५२५ मिटर लम्बाइको धावनमार्गमा समेत जहाज चलाउन सकिनेलगायतका विकल्प दिएको थियो।

उत्तर दक्षिणको धावनमार्ग अहिले एक हजार ६६५ मिटर लम्बाइको छ। यो लम्बाइ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्रसम्म पुगेको छ। प्राधिकरणको टोलीलाई प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले विमानस्थल सञ्चालनमा सक्दो सहयोग हुनेमा आश्वस्त पारेका छन्। 

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरू प्रकाश रावल, मानबहादुर सुनार र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले विमानस्थल सञ्चालनका लागि तीनै तहको सरकारले सहयोग गर्ने पुनः प्रतिवद्धता जनाएका छन्। यस वर्ष धावनमार्गलगायतका संरचना निर्माणका लागि बजेट विनियोजन गरिएको छ। प्राधिकरणले आगामी फागुनदेखि रन वे कालोपत्रेलगायतका कार्य शुरु गर्ने भएको छ।