काभानी युनाइटेडमा
2020/10/07, 12:27
 
kavani

 उरुग्वेका प्रभावशाली स्ट्राइकर इडिन्सन काभानीलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ३३ वर्षीय काभानीलाई युनाइटेडले फ्री टान्सफर विन्डोमा अनुबन्ध गरेको हो। एक वर्षका लागि युनाइटेडमा आबद्ध भएका काभानीले १० मिलियन पाउन्ड प्राप्त गर्ने बताइएको छ। उनले युनाइटेडसँगको अनुबन्ध अर्को एक वर्ष लम्ब्याउन सक्ने पनि सम्झौतामा उल्लेख छ। 

म्यानचेस्टर युनाइटेडसँगको अनुबन्ध सफल भएकोमा काभानीले खुसी व्यक्त गरेका छन्। ‘विश्वकै चर्चित क्लबमा अनुबन्ध हुन पाउँदा खुसी छु। आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेर म्यानचेस्टर युनाइटेडलाई उच्च सफलता दिलाउने छु। युनाइटेडका जोशिला समर्थकले साथ दिनेमा म विश्वस्त छु’, काभानीले भनेका छन्। पीएसजीमा आठ वर्ष बिताएका काभानी पीएसजीका सर्वाधिक गोलकर्ता पनि हुन्।

कीर्तिमानी गोलकर्ता काभानीले पीएसजीमा तीन सय एक खेल खेल्दै दुई सय गोल गरेका छन्। काभानी सन् २०१३ मा इटालियन क्लब नापोलीबाट पीएसजीमा आबद्ध भएका थिए।

पीएसजीले सन् २०१७ मा ब्राजिलियन स्टार नेमार र युवा स्टार केइलिन एमबाप्पेलाई अनुबन्ध गरेपछि काभानी छायाँमा पर्दै आएका थिए। गत सिजन माउरो इकार्डी लोनमा पीएसजी भित्रिएपछि काभानीमाथि संकट थपिएको थियो। टोलीको पहिलो रोजाइमै पर्न छाडेका काभानी जसरी पनि यस सिजन पीएसजी छाड्ने सोचमा थिए। 

काभानीलाई यसअघि म्यानचेस्टर युनाइटेडसँगै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, न्युक्यासल युनाइटेड लगायतका क्लबले पनि अनुबन्धको इच्छा देखाएका थिए। अन्तिममा अनुभवी काभानीलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले बाजी मार्‍यो। सन् २००८ देखि उरुग्वे राष्ट्रिय टोलीका प्रमुख खेलाडी काभानीले देशका लागि एक सय १६ खेल खेल्दै ५० गोलको आँकडा पूरा गरेका छन्।