सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुको सहयोगमा स्वस्र्फुत रुपमा जुट्दै मनकारीहरु
2020/05/24, 2:49
 
khana

भारतबाट आएका नेपालीहरुलाई खाना र पानी उपलब्ध गराउदै अभियानमा स्वस्र्फुत ढंगले सहयोग गर्न मनकारी व्यक्तिहरु जोडिएका छन् । सोही अभियानमा जोडिदै आज बिहान एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्तले करीव दुई सय नेपाली दाजुभाईलाई बिहानको खाजा खुवाइएकी छन्  ।

धनगढी उपमहानगरपालिका–२ भन्सार स्थित नवदुर्गा माध्यामिक विद्यालय, मेनरोडस्थित त्रिनगर मावि र कैलाली बहुमुखी क्याम्पसमा रहेका झण्डै दुई सय व्यक्तिलाई पन्तका तर्फबाट आज बिहान खाजा वितरण गरिएको थियो । उनले नेपाली दाजुभाई विपत्तिमा परेको बेला आफूले सक्ने  सहयोग गर्नु हरेक नागरिकको दायित्व भएको बताईन । भारतबाट आएका नेपालीहरुले खाना र पानी नपाएका समाचार र दृष्यहरु हेरेपछि घरमै बसिरहन सकिन, यो बेला अलिकति भएपनि उहाँहरुलाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र यो अभियानमा जोडिए, पन्तले भने, यो बेला हामी आफ्ना दाजुभाईको सहयोगमा काम लागेनौ भने कहिले काम लाग्छौ ?

विद्यालयले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएकोमा भोका व्यक्तिलाई खाना खुवाउने भन्दा राम्रो कार्य अरु हुन सक्दैन भन्ने सोचले भारतबाट आएका नेपालीहरुलाई खाजा वितरण गरेको उनले बताईन । बिहान नेपाली दाजुभाईहरुलाई खाजा वितरण गरिरहेको दृष्य फेसबुक लाईभ मार्फत हेरेका ईण्डोनशियामा कार्यरत धनगढीका ईञ्जिनियर टंक पन्तले एक दिनको खाजा आफ्नो तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै धनगढीका एक व्यापारीले एक दिनको खाना आफ्नो तर्फबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो नाम भने नखुलाउन आग्रह गरे ।

त्यस्तै अर्का एक व्यवसायीले यो अभियानमा सहयोग गर्न २१ हजार रुपैया उपलब्ध गराएका छन् । उनले पनि आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरेका छन् । त्यस्तै अर्का व्यापारी सत्यप्रकाश मोहपालले एक दिनको खाजा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । युवा राहुल बंशलले पनि यो अभियानमा जोडिएका छन्  । व्यवसायी गौरव अग्रवालले  पनि यो अभियानमा साथ दिने  जनाएका छन् । त्यसैगरी एनआईसी एशिया बैंकमा कार्यरत निर्मल लम्सालले पनि यो अभियानमा सहयोग गर्ने बताएका छन् । समाजसेवी श्याम तायलको अगुवाईमा शुरु भएको यो अभियानमा थुप्रै व्यक्तिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  ।

कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले गौरीफन्टामा नेपालीहरुलाई पिउने पानीको व्यवस्था गर्न चार वटा पानीको ट्यांकी राखेका छन् । यो अभियान अन्तर्गत काठमाण्डौंको संगम पब्लिकेसन्स, विद्यार्थी पब्लिकेसन्स, आशिष बुक्स प्रालिले समेत सहयोग गरेका छन् । चौलानी डिपार्टमेण्टलमा सञ्चालन गरिएको भण्डारामा हरेक दिन भारतबाट आएका नेपालीहरुको खाना र खाजा पाक्दै आएको छ । यो अभियान अन्तर्गत धनगढीमा अलपत्र परेका खाजा, खाना र पानीसंगै बेखर्ची भएका व्यक्तिहरुलाई गन्तव्यसम्म जाने बसको समेत व्यवस्था गर्ने गरिएको छ ।

समाजसेवी श्याम तायलको अगुवाईमा शुरु भएको यो अभियान कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालकका मानसिंह साउँद लगायतको सक्रियतामा शुरु भएको हो ।