जनता सीमामा अलपत्रः जनप्रतिनिधि भोजमा मस्त (भिडियो सहित)
2020/05/24, 3:25
 
ojha

विश्व कोरोना भाइरस कोभिडको माहामारीबाट त्राहीत्राही भएको बेला डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधिहरु भोज भतेरमा मस्त भएको भिडियो सार्वजनिक भएको छ ।

सरकारले जारी गरेको लकडाउनको उल्लङ्घन गर्दै गाउँपालिकाको एकान्त मगर बस्ती सिराडमा पुगेर नाचेको भिडियो छ । भिडियो जेठ ९ गते खिचिएको छ । भिडियोमा गाउँपालिका अध्यक्ष दुर्गा ओझा, वडा नम्बर ४ का अध्यक्ष नन्दराज भट्ट, घण्टेश्वर माविका प्रअ सुनलाल थापा लगायत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु प्रष्ट देखिन्छन् ।

यो कार्यक्रम वडा नम्बर ४ का अध्यक्ष नन्दलाल भट्ट आफै डोजर मालिकले निर्माण गरेको सडक सिराडमा पुगेपछि खुसीयालीमा आयोजना गरिएको स्थानीयले बताएका छन् । सिराडमा कार्यक्रमको आयोजना गरिएको दिन भारतबाट आएका गाउँपालिकाका दर्जनौ व्यक्तीहरु त्रिनगर भन्सार नाकामा भोकभोकै अलपत्र परेका थिए तर उता जोरायल गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधिहरुको टोली मदिरा खाएर नाचगान गरिरहेको थियो ।

उसो त जोरायल गाउँपालिकाका अध्यक्ष र त्यहाँका जनप्रतिनिधिहरु पटक पटक चर्चामा आउने गर्दछन् । आफुले विराज भट्टको चलचित्रमा अभिनय गर्ने सर्तमा गाउँपालिकाबाट १० लाख फिल्म सुटिङ्गका लागि सहयोग गरेको र अध्यक्षको नग्न फोटो सार्वजनिक भएको पछिको यो तेश्रो काण्ड हो ।