कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोनाको उच्च जोखिम, किट नहुँदा कोरोना परिक्षण रोकियो
2020/05/24, 7:30
 
tikapur

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न  किटको अभाव  भएको छ । जेठ ९ गते जानकी गाउँपालिकाका तीन जनामा कोरोना भाइरसको पुष्टि भएको थियो । किट अभाव भएका कारण परिक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । 

“जोखिम बढेको छ, किट छैन परीक्षणको दायरा बढाउन सकिएको छैन”, उनले भने, “प्रदेश सरकारसँग समन्वय गर्दा पनि किट पाइएको छैन । आफ्नै स्रोतले खरिदका लागि पनि सम्भव देखिँदैन ।” उनले आरडिटी र भिटिएम दुवै किट नहुँदा परीक्षणको काम पूर्ण रुपमा रोकिएको जानकारी दिए । नगरपालिकामा हाल १६० जना क्वारेन्टिनमा रहेका छन । भारतबाट नागरिक आउने क्रम बढेसँगै क्वारेन्टिनको व्यवस्थापनमा समेत नगरपालिकाले काम गर्दै आएको उनले बताए । नगर पालिकाको प्रोफाइलका अनुसार १६ हजार नागरिक भारतमा रहेको बताएका छन । उनले यस्तै अवस्था रहने हो भने स्थानीय सरकारले धेरै दिन थेग्न नसक्ने भन्दै हालको अवस्थामा कम्तीमा पाँच हजार नागरिक नगरमा भित्रन सक्ने बताएका छन ।

त्यस्तै सङ्क्रमण देखिएको जानकी गाउँपालिमा समेत किट नहुँदा कोरोना परिक्षण रोकिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका ४२ जना आफूहरुको सम्पर्कमा आए पनि परीक्षण किट नभएका कारण कुनै काम गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । उनले दिन प्रतिदिन सयौँको सङ्ख्यामा भारतबाट नागरिक आउन थालेको बताउँदै परीक्षणको दायरा बढाउन नसकेकै कारण समुदायमा त्रास फैलिएको बताएका छन । स्वास्थ्य शाखा प्रमुख चौधरीले क्वारेन्टिनमा बसेकाको  समय पुगिसकेको पनि किट नभएकै कारण जाँच गर्न नसकिएको बताए । जानकी गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वडा नं ४ को मोतिनगर र वडा नं ७ को बेलासपुर सिल गरिएको छ ।

भजनी नगरपालिकामा पनि किटको अभाव देखिएको छ । नगरपालिकामा किट नहुँदा क्वारेन्टिनको समय पुगेकाहरुलाई होम क्वारेन्टिनमा पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख कीर्ति्िसंह विकले बताए । मानिसको चाप दिनप्रतिदिन बढ्दै गएको बताउँदै विकले प्रदेश सरकारसँग समन्वय गर्दा पनि आउँछ भन्ने प्रतिक्रिया पाउने गरेको तर किट प्राप्त गर्न नसकिएको जानकारी दिए ।

उनले नगरपालिकाले किट खरिदका लागि पहल गर्दा एक किटको मात्र एक हजार १०० पर्ने भनेपछि नगरपालिकाको स्रोतले किट खरिद गर्न नसकिने बताए । नगरपालिकामा १५० भन्दा बढी मानिस क्वारेन्टिनमा रहेका छन्। भारतसँग सिमाना जोडिएको लालभोजी र खैलाडमा सीमा प्रवेश गर्न खोज्ने नागरिकलाई सिमानामै रोकेर उनीहरुको व्यवस्थापन गरिएको छ । जोशीपुर गाउँपालिकामा समेत आरडिटी र भिटिएम किटको अभाव हुँदा परीक्षणको दायरा बढाउन नसकिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिए । रासस