बैतडीमा थुनाका संक्रमितको सम्पर्कमा रहेका ६८ जनाको स्वाब संकलन, भिटिएम अभाव 
2020/05/24, 7:51
 
test baitadi

बैतडीका कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ६८ जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको छ।  आइतबार २२ र शनिबार ४६ जनाको  थ्रोट स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। 

जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। प्रहरी हिरासतमै रहेका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका थप २२ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। शिवनाथ गाउँपालिकामा रहेका प्रहरी, स्वास्थ्यकर्मी र आफन्तहरुको स्वाब सङ्कलन गरेर पठाइएको हो।

यसअघि शनिबार पनि ३२ प्रहरीसहित ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर धनगढी पठाइएको थियो। यद्यपि स्वाबको रिपोर्ट भने आउन बाँकी रहेको छ। थुनामा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका थप व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको हो। 

ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब सङ्कलन गरिएको हो भने बयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीहरुको पनि स्वाब सङ्कलन गरिएको हो। चैत ६ गते स्वदेश फर्किएका उनी केही दिन गाउँमा रहेकाले शिवनाथमा पनि स्वाब सङ्कलन गरिएको हो। 

यसैबीच शनिबार कोरोना पुष्टि भएका बैतडीका चार युवकको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलनका लागि भिटिएमको अभाव रहेको छ। सेती प्रादेशिक अस्पतालमा उपचारमा रहेका ती व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा चार सय बढी नागरिक छन्। उनीहरु गौरीफान्टा नाकाबाट स्वदेश भित्रिएका थिए।  रासस