आईपीएल : मिडसिजन ट्रान्सफर विन्डो शुरु, एक खेल खेल्न नपाएका सन्दीपलाई टीम बदल्ने अवसर
2020/10/13, 12:05
 
sandeep

इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औँ सिजनको आधा प्रतिस्पर्धा सकिएको छ । प्रतियोगिताको पहिलो हाफ सकिएसँगै आईपीएलमा पाँच दिनको मिड सीजन ट्रान्सफर विन्डो शुरु भएको छ । यसअनुसार दुई टोलीको आपसी सहमति अनुसार खेलाडीले फ्रेन्चाइजी बदल्न सक्नेछन् ।

ट्रान्सफर विन्डो सबै टोलीका लागि खोलिएको छ । यद्यपि, यो प्रक्रिया केवल ती खेलाडीका लागि लागू हुनेछ जसले सीजनको सात खेलममध्ये दुई या सोभन्दा कम खेलेका छन् । यसपटक ९० खेलाडी मिड सिजन ट्रान्सफर विन्डोका लागि उपलब्ध छन् ।

यसमा १२.५० करोड भारु मूल्य भएका बेन स्टोक, १० करोड मूल्य रहेका रोयल च्यालेन्जर्स बैंग्लुरुका क्रिस मोरिस, ८ करोड मूल्य भएका नाथन कुल्टर नाइल र ५.२५ करोड मूल्य भएका दिल्ली क्यापिटल्सका अजिंक्य रहाणे शामिल छन् ।

मिड सिजन ट्रान्सफरका लागि मुम्बई इन्डियन्सका १३, दिल्ली क्यापिटल्सका ९, कोलकाता नाइट राइडर्सका १०, रोयल च्यालेन्जर्स बैंग्लुरुका ११, सनराइजर्स हैदराबादका १३, राजस्थान रोयल्सका ११, चेन्नई सुपर किंग्सका १०, किंग्स इलेवन पञ्जाबका १३ खेलाडी योग्य छन् ।

नेपाली युवा स्पीनर सन्दीप लामिछानेले पनि अहिलेसम्म दिल्लीबाट एक खेल खेल्न पाएका छैनन् । उनले पनि टीम बदल्न पाउनेछन् ।

1

2