तेक्वान्दो खेलाडी विनोद थापाले एक घन्टामा २७५० किक हान्दै बनाए विश्व किर्तिमान   
2020/10/15, 5:45
 
binod thapa

तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सवैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन्  । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् । उनले एक घण्टामा एक खुट्टाले दुई हजार सात सय पचास पटक किक हानेर नया रेकर्ड बनाएका छन् ।

सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा आज एक कार्यक्रमको आयोजना गरी यो रेकर्ड कायम गराएको हो । सो कार्यक्रम दिउँसो ठिक १२ः३० मा सुरु भई १३ः३० सम्म एक घण्टामा २७५० किक हानेर सो रेकर्ड बनाएका हुन् । धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश शाहीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा विभिन्न मिडिया हाउसका पत्रकारहरु, कंचनपुर तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र सिंह, सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष केशब भट्ट, उपाध्यक्ष सरोज चौधरी, सचिव श्रीराम चौधरी लगायत प्रदेश संघका पदाधिकारीहरुको समेत उपस्थिति भएको थियो । कार्यक्रम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका महासचिव पदम बिक्रम सिंहले संचालन गरेका थिए ।  

अब अर्को रेकर्ड अक्टुबर २० का दिन मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड बनाउँदै पुरानो रेकर्डलाई तोड्ने छन् । हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । त्यस पश्चात दुवै रेकर्डको डकुमेन्ट गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाईने छ ।