सिमानामा नेपालीहरुकोको सागर आईपुग्यो, परीक्षण गर्ने किट आईपुगेन
2020/05/25, 7:43
 
sima

धनगढीको त्रिनगर भन्सार नाकामा आईतबार तीन हजार नौ सय ५० भित्रिए, कसैको पनि टेस्ट गरिएन । अन्य नाकामा पनि आरडिटी किट नभएकोले परीक्षण रोकिएको छ । रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन् । तर, किट अभावका कारण उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदै छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आइतबार मात्रै गौरीफन्टा नाकाबाट तीन हजार नौ सय ५० जना भित्रिएका छन । ३ जेठयता करिब साढे ११ हजार नेपाली फर्किएको उनले बताए । 

नाकामा स्वास्थ्य परीक्षण सम्भव नभएकाले सम्बन्धित स्थानीय तहहरूलाई क्वारेन्टाइनमा राख्न प्रदेश सरकारले समन्वय गरिरहेको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । ‘आरडिटी किट र जनशक्ती अभावले नाकामा स्वास्थ्य परीक्षण गर्न सकिएन, सबैलाई क्वारेन्टाइनमा राखेर १४ दिनभित्र जाँच गर्न स्थानीय तहहरूलाई भनेका छौँ,’ उनले भने । 

संघीय सरकारसँग आरडिटी किट माग गरिएको र प्रदेश सरकार आफैँले पनि खरिद गर्न लागेको मन्त्री सुवेदीले बताए । तीस हजार आरडिटी किट र पिसिआर जाँचका लागि दुई हजार भिटिएम खरिद प्रक्रिया प्रदेश सरकारले अगाडि बढाएको उनले बताए । प्रदेशभर हालसम्म २५ हजार एक सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ । चार हजार चार सय ६ को पिसिआर र बाँकीको आरडिटी विधिबाट परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताएको खबर नयाँ पत्रिकामा रहेको छ ।