धनगढीदेखि पाटनमा नियमित हवाई उडान सेवा सुरु
2020/10/16, 2:58
 
airport

बैतडीको पाटन विमानस्थलबाट २५ वर्षपछि हवाई उडान पुनः सुरु भएको छ। धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो।

सुदूरपश्चिमकै दोस्रो ठुलो विमानस्थलमा अबदेखि नियमित उडान भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए। समिट एयरले हप्ताको एकदिन उडान भर्नेगरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ। उनले भने, ‘पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी र बैतडीबाट ७ यात्रु लिएर धनगढी फर्केको छ।’

पहिलो दिन शुक्रबार हवाई उडान गरिएको भएपनि अबदेखि बैतडीमा हप्तामा एक दिन मंगलबार नियमित उडान हुने समिट एयरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिए।  धनगढीबाट हरेक मंगलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने उनले बताए। 

धनगढीबाट बैतडीको भाडा ३ हजार ८ सय रुपैंया तोकिएको छ। नियमित हवाई उडान भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ। तत्कालका लागि पाटन नगरपालिकासंग समन्वय गरेर एकजना सम्पर्क व्यक्ती राखेर काम गरिएको जनाइएको छ। अर्को हप्तादेखि आफ्नै जनशक्ति राखेर काम गरिने समिट एयरका सुदूरपश्चिम म्यानेजर उप्रेतीले बताए।