५० शैयाको कोरोना अस्पताल सञ्चालनका लागि तयार, सेतीलाई हस्तान्तरण
2020/05/25, 12:52
 
korona

धनगढीमा निर्माण गरिएको ५० शैयाको कोरोना अस्पताल सेती प्रादेशिक अस्पताललाई सञ्चालनको लागि तयार भएको छ । सेती प्रादेशिक अस्पतालकै मातहत नै रहने गरी ५० शैयाको आईसोलेसन वार्ड सहितको अस्पताल स्वास्थ्य कार्यालय कैलालीले प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको छ ।

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको उपस्थितीमा भवन हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए । कोरोना अस्पतालमा बिरामीका लागि आवश्यक पर्ने शैया, अक्सिजन पलान्ट, खानेपानी, बिजुली, शौचालयको व्यवस्थापन गरिएको छ । 

अब थप व्यवस्थापन र सञ्चालनको काम सेती प्रादेशिक अस्पतालले नै गर्ने उनले बताए। किनारा कन्सट्रक्सनले प्रदेश सरकारको ९४ लाख बजेटमा कोरोना अस्पताल भवन निर्माण गरेको हो । अहिले कोरोना विशेष तोकिएको सेती प्रादेशिक अस्पतालमा २४ शैयाको आईसोलेसन वार्ड रहेको छ भने थपिएको ५० समेत गरी अब ७४ शैया पुगेको छ ।