कैलालीका तेक्वान्दो खेलाडी विनोद थापाले बनाए नयाँ विश्व कीर्तिमान
2020/10/20, 3:02
 
binod tahapa

कैलालीका तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।

उनले एक घण्टामा चार हजार सात सय २५ किक हान्दै यसअघिको रेकर्ड तोडेका हुन् । यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको थियो । उनको नाममा २२ अप्रिल २०१९ का दिन युएसएमा भएको कार्यक्रममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । नेपालका विनोद थापाले हानेको ४७२५ किक अब नयाँ रेकर्ड बनेको छ ।

उनले दिउँसो ठिक १२ः०० मा सुरु भई १३ः०० सम्म एक घण्टामा ४७२५ किक हानेर नयाँ रेकर्ड बनाएका हुन् । अब उक्त रेकर्डको सबै डकुमेन्ट गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाईने छ ।

4

धनगढी स्थित टाउन सेन्टर फिटनेस रातोपुलको हलमा सम्पन्न कार्यक्रम सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य साम्राज्य बिक्रम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धनगढी उप महानगरपालिकाका नगर प्रमुख निर्प बहादुर ओड, सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका निवर्तमान अध्यक्ष प्रदिप थापा, युथ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेन्द्र शाही, सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष केशब भट्ट, उपाध्यक्ष सरोज चौधरी, कोषाध्यक्ष दिपेन्द्र कुँवर, सचिव श्रीराम चौधरी, कार्य समिति पदाधिकारी लोगबहादुर बुढा, सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका संस्थापक महासचिव कटक बहादुर सिंह लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 
 थापाले ५ वर्ष मुम्वई र ३ वर्ष मलेसिया रहि तेक्वान्दो सिकेका थिए सो क्रममा उनले थुप्रै स्वर्ण पदकहरु जिती नेपालको गरिमा बढाएका थिए ।