सुदुरपश्चिममा कोरोना संक्रमितः ६० प्रतिशत भारतबाट आएका
2020/05/26, 8:40
 
sima

४० दिनसम्म शान्त बनेको सुदुरपश्चिममा पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या ह्यात्तै वढेको छ । तीन दिनको अवधिमा ९ जना संक्रमित थपिएका हुन् । यो सँगै प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ । गत शुक्रबार शनिवार र आईतबार गरी थपिएका नौ जना संक्रमितहरु सवै भारतबाट नै आएका हुन् । ७० दिनयता आएका नौँ जनामा कोरोना पुष्टि भएपछि भारतबाट आउनेका कारण सुदुरपश्चिम अझ कोरोनाको उच्च जोखिममा परेको छ । प्रदेशमा कुल १५ जनालाई कोरोना देखिएको छ । त्यसमा ९ जना भारतबाट आएका छन् । भारतबाट आएका कोरोना संक्रमितको संख्या भनेको कुल संक्रमितको ६० प्रतिशत हो ।

अहिलेसम्म १५ जनामा कोरोना पुष्टि भएकोमा नौ जना भारतबाट फर्किएका पुरुष र एक जना युएईबाट फर्किएका पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयक अनुसार आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका तीन जना पुरुष र दुई जना महिलामा पनि कोरोना पुष्टि भईसकेको छ । 
सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी युएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो । लम्कीका २१ बर्षीय युवक भारतबाट फर्किएका थिए । 

बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिईन । बैशाख १ गतेसम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन् । त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ संक्रमित फेला परेनन् । जेठ ९ गते एकै दिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । कैलालीका तीन जना संक्रमित मध्ये एक जना भारतबाट लुकिछीपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए । अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए । जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए । पछिल्लो पटक पुष्टि भएका संक्रमित जेठ ८ गते दुई हजार चार सय ९८ जना नेपालीसंगै गौरीफन्टा नाकाबाट फर्किएका थिए । अहिले प्रदेशमा १० जना कोरोना संक्रमितको उपचार भईरहेको छ भने ५ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । ५ जनाको सेती प्रादेशिक अस्पताल, तीन जनाको टीकापुर अस्पताल तथा एक÷एक जनाको डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भईरहेको छ ।