कैलालीको गौरीफन्टा नाकाबाट उद्धार हुने दुई हजार दुई सय, खाना नास्ता खाने सात हजार दुई सय
2020/05/26, 11:20
 
rahat

सीताराम ओझा- जेठको सुरुदेखि कैलालीको भन्सार नाकाबाट उद्धार गरिएका नेपालीहरुलाई खाना खुवाउने क्रम वढिरहेको छ । तर नाकाबाट उद्धार हुनेको संख्याभन्दा चार गुणा वढीले खाना नास्ता खाएको देखिएको छ । खबर कुञ्ज टीमले सोमबार उद्धार गरिएका र उनीहरुलाई खाना खुवाईएकाहरुको तथ्यांक केलाउँदा उद्धार हुने कम र खाना खाने त्यो भन्दा धेरै पाईएका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सोमवार दुई हजार दुई सय १७ जनालाई उद्धार गरी उनीहरुलाई सम्बन्धित ठाउँ पठाईएको छ । तर गौरीफन्टा नाकामा भोक भोकै पुगेकाहरुलाई खाना खुवाउने क्रम वढिरहेका वेला विभिन्न मनकारीहरुले सात हजार दुई सय जनालाई खाना नास्ता खुवाएका छन् । उद्धार हुने कम र खाना खानेको संख्या त्यो भन्दा चार गुणा वढी हुनुले शंका पैदा हुन थालेको छ । 

भारतबाट आएका नेपालीहरुलाई खाना पानी उपलब्ध गराउने अभियान व्यवसायी तथा समाजसेवी श्याम तायलको अगुवाईमा दुई सातादेखि खानापानी अभियान सञ्चालन भईरहेको छ । सो अभियान अन्तर्गत सोमवार एक हजार नौं सय जनालाई खाना खुवाईएको छ । चौलानी डिपार्टमेन्ट स्टोरमा मेस सञ्चालन गरी भन्सार नाका र नवदुर्गा माविको क्वारेन्टाईनमा रहेकालाई प्याकिङ खाना खुवाएको छ । अभियानका संयोजक पत्रकार दिर्घराज उपाध्यायका अनुसार सोमवार दुई हजार जनालाई खाना र पानी उपलब्ध गराईएको छ । 

आरपी मोर्डन ईण्डष्ट्रिजका सञ्चालक राजकुमार अग्रवालका तर्फबाट एक हजार जनालाई, कैलाली हार्डवेयर संघका तर्फबाट पाँच सय जनालाई, नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरीयाका लेखा प्रमुख शिला भण्डारी र धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका  महेश जोशीका तर्फबाट दुई सय जनालाई खाना तथा पानी वितरण गरिएको उपाध्यायले जानकारी दिए । 

खानापानी अभियानसँगै अन्य मनकारीहरु पनि खाना खुवाउन लागिरहेका छन् । रोयल कोल्याबेटिभ्सले दैनिक रुपमा नवदुर्गा माविमा मेस सञ्चालन गरेर खाना खुवाईरहेको छ । पाँच दिनदेखि रोयल कोल्याबेटिभ्समा आवद्ध युवाहरुले साँझ र विहानको खाना दिउँसो नास्ता खुवाईरहेका छन् । रोयल कोल्याब्रिसनका अध्यक्ष गजेन्द्र शाहीको नेतृत्वमा भईरहेको सामाजिक कार्य अन्तर्गत सोमवार सात सय ५० जनालाई खाना खुवाईएको छ । विहान साँझ र राती गरी खाना खानेको संख्या सात सय ५० बनेको संयोजक शाहीले जानकारी दिए । 

त्यसैगरी सुदुरपश्चिम फाउण्डेसनले सोमवार एक हजार पाँच सय जनालाई खाना खुवाएको जनाएको छ । प्रदेश सरकारको सहयोगमा सिमा नाकामा पुगेर खाना खुवाईरहेको फाउण्डेसनले सोमवार एक हजार पाँच सय जनालाई धनगढीको कभर्डहलमा खाना बनाएर खुवाएको फाउण्डेसनका अध्यक्ष भरत शाहले जानकारी दिए । आफै दानबाट चल्ने संस्था दृष्टि फाउण्डेसन र वोलन्या थलीले पनि केही दिनदेखि खाना खुवाउँदै आएको छ । उनीहरुले अस्तिदेखि आजसम्म निरन्तर खाना खुवाईरहेका छन् । वोलन्या थलीका संयोजक यादव जोशीले दिएको जानकारी अनुसार सोमवार तीन सय ५० जनालाई खाना खुवाईएको छ । त्यसैगरी सोमवार छठ पुजा समितिले पनि खाना खुवाएको छ । भारतबाट आएका एक हजार ६ सय जनालाई खाना खुवाईएको छठ पुजा समितिका अध्यक्ष सन्तोष मण्डलले बताए । उनले भिडियो सहितको जानकारी फेशवुकमा पनि राखेका छन् । 

होटेल व्यवसायी संघले पनि भारतबाट सोमवार फर्किएका ११ सय जनालाई आवश्यक नास्ता पानी सहयोग गरेको छ । संघका अध्यक्ष कमल बमको नेतृत्वमा खटिएको टोलीले आवश्यक विभिन्न खाद्य सामाग्री सहयोग गरेको हो । सोमवार खाना नास्ता खुवाएको विभिन्न संघ संस्था र मनकारीहरुको दावीलाई आधार मान्ने हो भने सात हजार दुई सय जनालाई खाना नास्ता खुवाएको देखिन्छ । तर नेपाल प्रवेश गर्नेको संख्या भने त्यो भन्दा निकै कम दुई हजार दुई सय १७ जना रहेको छ । उद्धार हुने र खाना खाने जनाको अन्तर चार हजार नौ सय ८३ आउँछ । झण्डै उद्धार गरिएका भन्दा झण्डै ५ हजार वढीले खाना खाएको आउनु मनकारीहरुको नियतमा संख्या हो की सस्तो लोकप्रियताका लागि गरिएको स्टन्ट हो ? यस विषयमा खोजी गर्न आवश्यक रहेको सम्बद्धहरुको भनाई छ ।

प्रायः उद्धार गरिएकाहरुले दुई पटक खुवाए भने मनकारीहरुले दावी गर्न सक्छन् । तर केही वाहेक अधिकांशले दुई पटक खाना खान सक्ने स्थिति नै छैन किनकी उनीहरु नेपाल पुग्ने वित्तिक्कै सम्बन्धित ठाउँ पठाउने गरिएको छ । दुई पटक खुवाए पनि चार हजार चार सय ३४ जना आउँछ । एक जनालाई दुई पटक खुवाउँदा पनि दुई हजार सात सय ६६ जना अझ थपलाई खाना खुवाएको देखिन्छ ? के उनीहरुलाई तीन पटक खाना खुवाईएको हो ? तीन पटक खुवाउँदा पनि अझ धेरै जनालाई खुवाएको देखिन्छ ? त्यो कसरी हुन सक्छ ? मनकारीहरुको मन के साच्चिकै सहयोग गर्ने छ की ? खाना खुवाउने नाममा पैसा खाने दाउ हो ? आम सुदुरपश्चिमवासीका मनमा प्रश्न उब्जिएको छ ।