सुरक्षाकर्मीको दशैंः बिहेकै वर्ष पनि मिलेन छुट्टी, ससुरालीमा होईन ब्यारेकमै टीका जमरा !
2020/10/27, 8:48
 
corona

विगतका वर्षजस्तो उत्साह नभए पनि दशैंको समय शहर बजारमा केही मात्रामा दशैंको रौनक देखिँएको थियो । मोहना– अत्तरिया ६ लेन सडक अन्तर्गतको त्रिनगर भन्सार रोडमा चेकजाँचका लागि बिहानैबाट सुरक्षाकर्मीहरू खटिएका थिए । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत सुदूरपश्चिममा थप सुरक्षाकर्मी परिचालन भएका थिए । त्यसै अनुरूप त्रिनगर पोस्टमा कार्यरत सुरक्षाकर्मीहरू पनि दशैं अवधिभर नै सडकमा खटिए । सडकमा आवतजावत भइरहेका सवारी चेकजाँच गर्ने र मास्कको प्रयोग गर्न लगाउने उनीहरूको ड्यूटी थियो ।

4

यसपालिको दशैँ कस्तो हुँदै छ ड्यूटीमा रहेकी प्रहरी हवल्दार पार्वती महरालाई सोध्दा एकछिन त केही बोलिनन्, अलि पछि उनले भनिन्, ‘के गर्ने सर हामी प्रहरीलाई न दशैं न तिहार ।  जागिर गर्न थालेको १६ वर्ष पूरा भयो । आजसम्म दशैंको समयमा कहिले घर जान पाएको छैन ? घरबाट फोन गरेर कहिले आउँछेस् भनेर हैरान पारेका छन् । आफ्नो बाध्यता छ जिम्मेवारी त बहन गर्नै प¥यो नि ! 

सडक क्षेत्रमा कामको चापमै रहेकी उनले एक छिन फुर्सद निकालिन् र आफ्नो बेदना पोख्न थालिन्, ‘घर कञ्चनपुरको कृष्णपुर हो । तर कहिले चाडपर्व आफन्तसँग मनाउन पाएकी छैन । घरमा ५ वर्षको बाबु छ, सासू ससुरा हुनुहुन्छ । श्रीमान रोजगारीका लागि भारतमै हुनुहुन्छ । दशैंमा घरका सबै मेरै बाटो हेरेर बस्छन् तर के गर्ने बाध्यता बिदा मिल्दैन । उनले थपिन्, ‘यो दशैं आउँदा मन साह्रै खिन्न हुन्छ । दशैँको टीकाकै दिन १६ वर्षअघि भारतमा दाजु बित्नुभयो । गत वर्ष दशैँकै दिन म ड्यूटीमै थिएँ । बाइकले ठक्कर दियो सम्झिँदा पनि मन खिन्न हुन्छ ।’ 

भन्छन्, ‘दशैं भत्ता पायौं तर कोरोना जोखिम भत्ता अझै पाएका छैनौं’ 
त्रिनगर पोष्टबाट ड्यूटीमा खटिएका अर्का एक प्रहरी हवल्दार भन्छन्, ‘चाडपर्व आयो कि मन खिन्न हुन्छ । जागिर खाएको दुई दशक हुन थाल्यो तर अहिलेसम्म कहिले घर जान पाएको छैन । घरमा छोरा—छोरी, श्रीमती, बुवा—आमा कुरेर बसिरहेका हुन्छन् । फोनमा कुरा गर्दा श्रीमती रुन्छिन्, साह्रै नराम्रो लाग्छ ।’ उनले थपे, ‘यस्तो कोरोना कहरका बीच पनि हामी निरन्तर जिम्मेवारी बहन गरिरहेका छौ । सँगैका साथीहरू कतिपय त कोरोना संक्रमणको शिकार नै भइसके । सरकारले कोरोना जोखिम भत्ता पनि दिने भनेको थियो तर खै हामीले अहिलेसम्म पाएका छैनौं । दशैं भत्ता त पायौंं ।’

1

डिउटीमै रहेका प्रहरी जवानहरूको पीडा पनि त्यस्तै छ । ‘दशैंमा घर जान नपाउँदा साह्रै नरमाइलो लाग्छ,’ प्रहरी जवान हरिस भट्टले भने, ‘बिहे गरेको पनि एक वर्ष मात्रै भयो । यसपालि ससुरालीमा दशैं मनाउने सोचेको थिएँ, तर के गर्नु सोचे जस्तो नहुने भयो ।’ ‘दशैं भत्ता त पायौं तर हालसम्म कोरोना जोखिम भत्ता पाएका छैनौं’, उनले भने ।

एसएसपी भन्छन्, ‘जागिरको २८ वर्ष भयो दशैंमा घर जान कहिले मिलेन’ 
सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंह जागिरे जीवन शुरूआत भएपछि आफन्तहरूसँग घरमै गएर दशैं मनाउन नपाएको बताउँछन् । ‘प्रहरीमा जागिर खाएको २८ वर्ष पुग्यो’, उनले भने, ‘त्यसपछि दशैं मनाउन घर जान पाएको छैन । दशैं प्रहरी कार्यालयमै बित्छ । कतिपय अवस्थामा नजिकै भए घर परिवारलाई पनि आफू बस्ने ठाउँमै बोलाएर दशैं मनाउँछौं । चाडपर्वको समयमा बढी नै व्यस्त हुने भएकाले घर जान समय हुँदैन ।’

प्रहरी कार्यालयभित्रै अग्रज मान्यजनबाट टीका लगाएर र आफूले मातहतका सुरक्षाकर्मीलाई टीका लगाइदिएर उनको दशैं बितेको छ । ‘मभन्दा अग्रज यहाँका डीआईजी सापबाट मैले टीका थापे,’ उनले भने, ‘चाडपर्व लक्षित सुरक्षा योजना हुन्छन् त्यसलाई पनि कार्यान्वयन गर्नुपर्ने हुन्छ । तल्लो दर्जाका केही सुरक्षाकर्मीहरूलाई आलो—पालो गरेर दशैंमा घर पठाउन मिले पनि हाम्रो भने समय नै हुँदैन ।’

1

उनले थपे, ‘यसपालिको दशैं विगतका वर्षभन्दा फरक छ । कोभिड– १९ ले गर्दा हामीले प्रहरीभित्रै पनि सामाजिक दूरी कायम गरेर मात्रै दशैँ मनाएका छौं, विगतका वर्षको जस्तो नाचगान भएन’, उनले भने । सुदूरपश्चिम प्रदेशमा ६ हजार बढीको हाराहारीमा सुरक्षाकर्मी छन् । ती मध्ये ५ हजार चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा परिचालन भएको खबरलाई जीवन बिष्टले लोकान्तरमा लेखेका छन् ।