मेहनतले उकासेको छविलालको छविः मुक्तकमैया शिविरमै उद्यम, अपांगता र अभावले छेकेन
2020/10/31, 3:39
 
chhabi

कैलालीको घोडाघोडी नगरपालिकामा हाइवेसँगै जोडिएको एक मुक्तकमैया शिविर छ । त्यही अस्तव्यस्त शिविरमा बस्छन्, छविलाल चौधरी । उनको विगत निकै नमीठो छ । विपन्न परिवारमा जन्मिएका छविलालको बाल्यकाल अति अभावका बीच बित्यो । बाल्यकालमै पितावियोगको सामना गर्नुप¥यो । पछि उनले अपांगताको सामना गर्नुप¥यो । उनका दुवै खुट्टा चलेनन् । अपांगता भएकै कारण उनले पारिवारिक र सामाजिक तिरस्कार बेहोर्नुप¥यो । उनलाई आमाले माया त गर्थिन्, तर लामो समय आमाको ममता पनि पाउन सकेनन् ।
कारण थियो, श्रीमानको मृत्युपछि देवरसँग बिहे गर्नुपर्ने प्रचलन ।

उनकी आमाले देवरसँग बिहे गरिन् । त्यसपछि उनको जीवन झन् जटिल मोडमा पुग्यो । उनी कमैयाका रूपमा अरूको घरमा काम गर्न थाले । यसैबीच सरकारले कमैयामुक्त घोषणा ग¥यो । तर पनि उनी खुशी हुन सकेनन् । कारण थियो, बाँकी जीवन कसरी कटाउने ? भन्ने चिन्ता । कमैया मुक्तिपछि उनी बेकामे भए । सडकपेटीमा बसेर माग्न थाले । मागेको पैसाले दैनिकी गुजारे । फेरि कमैया बस्ने मालिकको खोजीमा भौंतारिए । लम्कीमा एक जनाले उनलाई सहारा दिए । त्यही घरबाट सीप सिक्न थाले ।

1

केही समय सिलाइकटाइ तालिम लिएपछि उनमा आफैंले केही व्यवसाय गर्ने सोच आयो । तर, लगानी अभावले सोच व्यवहारमा परिणत हुन सकेन । केही समयपछि उनलाई सहारा दिएका ‘मालिक’को निधन भयो । उनको झन् बिचल्ली भयो । र पुगे हिक्मतपुरस्थित मुक्त कमैया शिविर ।  शिविरमा सानो झुपडी बनाएर त्यहीँ बस्न थाले । शिविरभित्रै उनले व्यवसायका लागि गरेको संघर्ष प्रेरणादायी छ । दृढ इच्छाशक्तिका छविलालले ‘अपांगता भएका व्यक्तिले पनि सपांगले झैं काम गर्न सक्छन्’ भन्ने सत्यलाई प्रमाणित गरिदिएका छन् । शिविरको टहरोमा उनले तीनवटा व्यवसाय संचालन गरेका छन् । बेतका कुर्सी बनाउनेदेखि विभिन्न काम गरिरहेका छन् । कमाइ पनि राम्रै छ ।

..... त्यो दर्दनाक विगत
२०४३ सालमा कैलालीको पथरैयामा जन्मिएका छविलालले आफू सपांग भएको थाहा पाउन पाएनन् । थाहा पाउँदा उनी दुई खुट्टा र दुई हातको सहारामा चल्ने भएका थिए । घण्टौंसम्म कसेर बोक्दा रक्तसञ्चार हुन नपाएर उनी अपांग भएको उनका आफन्तहरू बताउँछन् । उनी पनि यही भन्छन् । ‘करीब २ वर्षको हुँदा मेरो जेठो दाइ बिरामी हुनुभएको थियो रे, आमाले मलाई पिठ्यूँमै बोकेर पथरैयाबाट मुनुवा, मुनुवाबाट फेरि पथरैया लिएर घरमा राखेदेखि मेरा दुवै खुट्टा चल्न छाड्यो रे,’ उनले आफूले सुनेको कुरा हामीलाई सुनाउँदै भने, ‘आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न पाउनु भएन रे, अनि म यस्तो भएँ ।’ सानैमा दुवै खुट्टा गुमाएका छविलाल त्यतिबेला पूर्ण बेसहारा भए, जति बेला उनका बुबाको निधन भयो ।

1

कमैया काम गरिरहेका बेला गोरुगाडाले किचेर उनको बुबाको ज्यान गएको थियो । ‘शायद बुवा भइदिएको भए मेरो उपचार हुने थियो होला, विचरी आमालाई त दुई छाक टार्नकै लागि पसिना बगाउन फुर्सद थिएन,’ उनले भावुक हुँदै भने, ‘केही उपचार भएको भए कालिचरण सर जत्तिको हिँड्न सक्ने त हुने थिएँ ।’ उनी आकाशतिर हेर्न थाले । शायद आँसु नझरोस् भनेर होला । ‘सानोमा दुःख पाएर होला सर, आज चार खुट्टाले टेकेर हिँड्नुपरेको छ,’ सम्हालिँदै उनले भने । पथरैया मुक्त कमैया शिविरमा जन्मे हुर्केका छविलाल अहिले घोडाघोडी नगरपालिका–१ स्थित मुक्त कमैया शिविरमा एक छोरा र श्रीमतीसँगै बस्दै आएका छन् ।

भोको पेट, अनिदो रातले सिकाएको संघर्ष
घरमा खाने कुरा नभएर भोकभोकै सुतेको पनि उनलाई याद छ, ‘पैसा पनि नहुने र सरकारले दिएको बलौटे जग्गामा खेती पनि नहुने भएर कैयौं रात माड खाएर सुतेको थिएँ’, विगत सम्झिँदै छविलालले भने, ‘अहिले घरपरिवार राम्रै चलेको छ, खर्चको समस्या हुन्न ।’ आफूमा अपांगता भएका कारण समाजमा धेरै अपहेलना सहनुपरेको उनको अनुभव छ । ‘सबैले काम गरेर पनि साँझ बिहान छाक टार्न समस्या थियो’, विगत सम्झिँदै उनले भने, ‘दुवै खुट्टा काम नलाग्ने भएर पछि त झन् म बोझ मात्रै भएँ ।’

2

फेरिँदै जीवनशैली
करीब एकदशक पहिले पुष्कल शाहले उनलाई १ हजार ४ सय रुपैयाँको सामान उपलब्ध गराइदिएका थिए । ‘तपाईंको केही योजना छ ?’ पुष्कल सरले सोध्नुभयो, ‘मैले त्यस्तो रहर त सुनाइनँ तर, उहाँले एउटा पसलबाट निःशुल्क सामान ल्याउने व्यवस्था गरिदिनुभयो ।’ उनले थपे, ‘त्यही १४ सयको सामानले आजसम्म जहान केटाकेटी पालिरहेको छ ।’ शुरूमा २५ हजार रुपैयाँ साना किसानबाट निकालेर कारोबार गरेका उनले त्यसपछि पटक–पटक लाखभन्दा बढीको कारोबार गरेका छन् ।

‘सुरूमा २५ हजार त कत्ति हो कत्तिजस्तो लागेको थियो । अहिले महिना, दुई महिनामा त्यति किस्ता बुझाउँछु,’ उनले भने, ‘अब करोडको कारोबार गर्ने धोको छ ।’ शारीरिक अशक्तता भए पनि उनलाई त्यो भान भने कहिल्यै भएन । शुरूमा ८ सय रूपैयाँ भाडा तिरेर उनले व्यापार सुरू गरेका हुन् । त्यसपछि अहिले आफ्नै घरमा पसल राखेका छन् ।

बेतबाँसबाट मनग्य आम्दानी
नेपाल अपांग संघबाट सिलाइ कटाइको तालिम लिएका छविले बेतबाँसको पनि तालिम लिएका छन् । ४ वर्षपहिले उनले सहकारीबाट २५ हजार रुपैयाँ ऋण निकाले र आफ्नो घरमै बेतबाँसका सामान बनाउन थाले । कश्मीर बेतबाँस उद्योग सञ्चालन गरेका छविलाई अहिले बेतबाँसका सामान बनाउन भ्याइनभ्याइ छ । उनले बेतबाँसका मुडा, फूलदानी, चुरा स्ट्याण्ड, ¥याक, कुर्सी, टेबुल, ह्यांगरलगायतका सामान बनाउँछन् । २ सय ५० देखि ३ हजार रुपैयाँसम्ममा सामग्रीहरू आफूले बनाएर बेच्ने गरेको उनी बताउँछन् । उनलाई सँगसँगै ताराले पनि सघाउने गर्छिन् ।

1

बेतको कुर्सी बनाइरहेका छविले भने, ‘उनमा पनि सबै कुराको सीप छ, अब त हामी यसैबाट माथि उठ्छौं कि ?’ बेत किन्न केही टाढा जानुपर्दा भने उनलाई समस्या हुने गरेको छ । तर पनि जसोतसो गुजारा चलाइरहेका छन् । उनले अहिले अन्य केहीलाई पनि रोजगारी दिएका छन् । छविले चार जनालाई रोजगारी दिएका छन् । ‘उनीहरूले बनाएका सामग्रीअनुसार मैले पैसा दिन्छु,’ उनले भने, ‘अहिले मलाई मागअनुसारको संख्यामा सामग्री उत्पादन गर्न कठिन छ ।’ 

उनले बनाएका मुढाहरू कैलालीसँगै कञ्चनपुरमा पनि खपत भइरहेका छन् । उनी मासिक ३० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउँछन् । ३० हजारले चल्छ त दैनिकी ? उनी भन्छन्, ‘हिजो सुको नहुँदा अपहेलना र तिरस्कारमा हुर्किनुपरेको थियो, अहिले त सर्बस्व पुगेको आभास हुन्छ ।’ ताराले फुर्सदको समयमा माटाका खुत्रुके, घैँटोलगायतका सामान बेच्ने गर्छिन् । सिलाइ कटाइको तालिम लिएका छविले तारालाई पनि सिलाइकटाइ सिकाएका छन् । लेखपढ गर्न नपाएको र आर्थिक अभावका बीच हुर्किएको सम्झिँदै उनले छोरालाई निजी विद्यालयमा पढाइरहेका छन् ।

छविलालको धोको
पुस्तौंसम्म कमैया बसेका छविलालको परिवारले मुक्त भएपछि पनि त्योभन्दा सहज जीवन भने बाँच्न पाएन । सानैमा सहारा गुमाएपछि आहाराका लागि हरेक काम गर्न बाध्य छविलाललाई केही वर्षयतादेखि भने सन्तोष मिलेको छ । ‘सबैबाट एक्लिएपछि संसारमा मेरो केही छैन भन्ने लागेको थियो,’ मलिन अनुहारमा उनले भने, ‘उनी आएपछि मेरा जीवन फेरियो ।’ उनले उनी भनेर आफ्नी श्रीमतीलाई देखाए । श्रीमती लाजले पानी–पानी भइन् । ‘हो सर !’ छविलालले फेरि थपे, ‘अहिले उनले दोकान हेर्छिन्’, मैले बेतबाँसका सामान बनाउँछु । यसरी नै चल्दैछ हाम्रो जिन्दगी ।’ आफन्तको विवाह खान गएका छविलालको त्यही गाउँकी तारासँग आँखा जुध्यो ।

2

दुवैले मन पराए । ३,४ महिना फोन संवाद भयो । त्यसपछि विवाह । ‘उहाँको पनि बुवा नाई मेरो पनि नाई, हामी दुवैको बेदना उस्तै,’ विवाह हुनुको कारणबारे उनले भने, ‘हामी दुवै दुःखमा हुर्किएका हौं, अहिले केही सुख भएको छ ।’ छविलाललाई श्रीमतीको नाममा ठूलो पसल चलाउने ठूलो धोको छ । ‘आज मैले सामान ल्याउने पसलहरूलाई भोलि सामान बेच्ने रहर छ ।’ उनले आफ्नो रहर बताउँदै गए, ‘यो पसल ठूलो बनाउँछु, श्रीमतीको नामबाट पसलको नाम राख्छु, अनि धेरै व्यापार गर्छु ।’

छविको यो कुराले सँगै बसेकी उनकी श्रीमती भावुक भइन् । ‘खै यस्तो सपना देख्नुहुन्छ, यो सपना मात्रै हुने हो कि ? यो जुनीमा त दुःखले नछोड्ला जस्तो छ,’ ताराले भनिन् । ‘भइहाल्छ नि ! तपाईंहरूका दिन पक्कै फेरिन्छन’, मैले ढाडस दिएँ । दुवै मुस्कुराए । जीवन बिष्टले यो खबर लोकान्तरमा लेखेका छन् ।