कोरोना कालको समाजः पाहुनालाई स्वागतको सट्टा जरिवाना, वडामै प्रवेश निषेध, भलमन्सा र युवाहरू परिचालन
2020/05/27, 7:07
 
gau

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि कैलाली जिल्लाको एउटा वडामा प्रवेश निषेध गरिएको छ । निषेध मात्रै होइन, नव आगन्तुकले गाउँ प्रवेश गरे वा गराउनेलाई दण्डित गर्ने नियम समेत लागू गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१२ लाई महामारीबाट जोगाउन कडा नियम लागू गरिएको छ । खोपा, कोटा, शान्तिनगर, शिवपुर, बनबर्सा, गुरही, नक्फोरुवा गाउँ समावेश भएको वडालाई महामारीबाट जोगाउन वडा कार्यालयले नै बाह्य आगन्तुकलाई गाउँ तथा वडाभित्र प्रवेशमा पूर्णतया रोक लगाएको छ ।

जसको मुुख्य कारण हो– समुदायमा भएको पहुनी खाने जाने संस्कार र खेझरी टिप्न जानेको भीडभाड । भीडले गाउँमा आवतजावत बढी हुन थालेपछि जारी भएको दण्डित गर्ने नियमले आजभोलि भीडभाड नियन्त्रण भएको छ । वडाध्यक्ष पर्नाकुमार चौधरी वडाभित्र प्रवेश निषेधको कारण खुलाउँदै भन्छन्, ‘हाम्रो वडा वसन्ता संरक्षित वन अर्थात् बरका बनुुवा (ठूलो वन) सँगै जोडिएको क्षेत्र हो । यहाँ बहुसंख्यक थारु जातिको बसोबास छ । थारु समुदायमा एक गाउँबाट अर्को गाउँमा रहेका आफन्त कहाँ पहुना र पहुनी खान जाने संस्कार उहिलेदखिको हो । वैशाखदेखि जेठको समयावधिमा वनमा अत्याधिक पाक्ने खेझरी टिप्ने र टिप्ने बहानामा गाउँमा पहुनी खानेको भीड लाग्न थालेपछि निषेध गरेका हौं ।’

वडा कार्यालयले नै दण्ड गर्ने नियम लागू गरेको छ । खेझरी टिप्ने बहानामा टीकापुर, भजनी, लम्की, सुखडलगायत क्षेत्रबाट आउनेहरूको भीड लाग्न थालेपछि वडा नै महामारीको जोखिममा परेको वडाध्यक्ष चौधरीले बताए । वडाध्यक्ष चौधरी भन्छन्, ‘वडाभित्र बाह्य आवागमन अत्याधिक धेरै थियो । दैनिक संयौं बाह्य क्षेत्रका मानिस वडा क्षेत्रभित्र जरुरी काम विनै आउँथे । कसरी जोगाउने भनेर मलाई बहुत चिन्ता लाग्थ्यो । जोखिम बढेपछि वडाभित्रका सबै गाउँका भलमन्साहरू र युवाको भेला ग¥यौं र परिचालन गरेका हौं । नियमको उल्लंघन गर्ने तथा प्रवेश गर्ने वा गराउनेलाई १ हजार रुपैयाँ जरिवाना गर्ने नियम बनाएका छौं ।’

वडालाई जोगाउन वडाभित्र प्रहरी प्रशासन होईन, भलमन्सा र युवाहरू परिचालन गरिएका छन् । ७ गाउँभित्र ७१५ घरधुरी रहेको वडामा ४ हजार ५८२ जनाको बसोबास रहेको घोडाघोडी नगरपालिकाले जनाएको छ । पश्चिम तराईको थारु बस्तीमा हरेक वर्षको माघमा नयाँ नेतृत्व स्वरुप भलमन्सा (गाउँ प्रमुख) लगायत चयन गर्ने तथा अनुमोदन गर्ने प्रचलन रहँदै आएको छ । सो प्रथाजन्य संस्कार अनुसार भलमन्साको सहयोगमा हालको महामारीबाट जोगाउने प्रयासमा वडा कार्यालय जुटेको छ । वडाध्यक्ष चौधरी भन्छन्, ‘वडालाई जोगाउन गाउँका भलमन्साहरू परिचालन गरेका छौं । थप प्रभावकारी बनाउन सुनौलो युवा सञ्जाल मार्फत युवा परिचालन गरेका छौं । नयाँ मान्छेलाई देख्ने बित्तिकै आवश्यक सोधपुछ हुन्छ । अहिलेसम्म यसरी नै वडालाई जोगाएका छौं ।’

बाह्य क्षेत्रबाट आउने मानिसलाई प्रवेश निषेध गरिएको वडामा अतिआवश्यक काम परेको बेला कसरी व्यवस्थापन गरिन्छ भन्ने जिज्ञासामा वडा अध्यक्ष चौधरी भन्छन, ‘जरुरी कामै परिहाल्यो भने यथार्थ कुरा पहिले बुझ्छौं । त्यसपछि प्रवेश दिन्छौं तर घरभित्र प्रवेश गराउने काम चाहिँ कुनै पनि हालतमा बन्द गरेका छौं । बास बसाउने कार्यमा रोक लगाएका छौं । कोही ईस्टमित्रहरू पहुनाको रुपमा आए घर बाहिरै खुवाएर पठाउन भनेका छौं । त्यसै अनुसार गाउँलेहरू गर्दै आएका छन् ।’ जेठदेखि प्रवेश निषेध गरेको वडामा हालसम्म जरिवाना भने कसैलाई नगरिएको बताइएको छ । 

खोपा गाउँका स्थानीय बृद्धिजीवी नारायण चौधरीले भने, ‘वनमा खेझरी टिप्न आउने र गाउँमा पहुनी खान बस्ने क्रम रोकिएपछि सुरक्षित महसूस गरिरहेका छौं तर कहिलेकाहिँ जरुरी काम भएर आउनेहरू समस्यामा पर्ने गरेका छन् । तथापि समयको गम्भीरयतालाई बुझ्न र बुझेर काम गर्न आग्रह गर्दै आएका छौं ।’ वडा कार्यालयले महामारी नियन्त्रणमा नआएसम्म वडा क्षेत्रमा प्रवेश निषेध जारी राख्ने बताएको छ ।