डडेल्धुरामा राष्ट्रियस्तरको खेल मैदानको निर्माण सुरु
2020/11/06, 8:36
 
rangasala

डडेल्धुराको अजयमेरू गाउँपालिका–३ चनबेतालमा राष्ट्रियस्तरको खेल मैदान (रङ्गशाला) को निर्माण सुरु भएको छ । जिल्ला, प्रदेश र राष्ट्रिस्तरका खेलकूद प्रतियोगिता एकै स्थानमा आयोजना गर्न सक्ने गरि खेल मैदान निर्माणको सुुरुवात गरिएको हो । राष्ट्रियस्तरको खेल मैदान निर्माणको सुुरुवात भएसंगै स्थानीयवासीमा खुशियाली छाएको छ । 

करिब २० करोडको लागतमा वहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको सो राष्ट्रियस्तरको खेल मैदान १५० मिटर लम्वाइ र ८० मिटर चौडाइको हुनेछ । यो मैदान निर्माणका लागि गत दुई आर्थिक वर्षमा रु ४० लाखभन्दा बढी खर्च भइसकेको गाउँपालिकाले जनाएको छ । 

गुरुयोजना अनुसार गाउँपालिकाले खेलमैदान निर्माणका लागि चालू आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजन गरिएको छ । यसका लागि बोलपत्र आह्वान भइसकेको र केही दिनमै मैदान निर्माणको काम शुरु हुने गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए । 

अहिले मैदान सम्याउने काम भइरहेको छ । चालू आर्थिक वर्षमा नै पर्खाल लागउने काम पनि सम्पन्न हुने उनको भनाइ छ । उनका अनुसार खेलमैदानमा प्याराफिट लगाउने, स्वीमिङ पुल, शौचालय, कर्भड हलसहित विभिन्न भौतिक संरचना पनि निर्माण गरिने छ।

‘एक वडा एक खेलमैदान’को अवधारण अनुसार बाँकी वडामा पनि खेलमैदान बनाउने काम सुरु भएको गाउँपालिकाले जनाएको छ । खेलकूद क्षेत्रको विकासका लागि भन्दै गाउँपालिकाले पाँच जनालाई खेल प्रशिक्षकको रुपमा चयन गरेको छ ।