साउथह्याम्पटन पहिलो पटक शीर्ष स्थानमा
2020/11/07, 12:08
 
football

साउथह्याम्पटन प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई २-० ले पराजित गर्दै साउथह्याम्पटन लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

साविक विजेता लिभरपुलसंग बराबरी अंक भएपनि गोलअन्तरमा साउथह्याम्पटन अघि रहेको हो । घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक-एक गोल गरे ।

खेलको सातौं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायमै राखेको साउथह्याम्पटनले खेल सकिन ८ मिनेट बाँकी छँदा अर्को गोल थप्यो । ८२ औं मिनेटमा आम्स्ट्रोङले साउथह्याम्पटनका लागि दोस्रो गोल गरे ।

जितपछि ८ खेलबाट १६ अंक जोड्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो । साउथह्याम्पटन सन् १९८८ पछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको हो । पराजित न्युकासल भने ८ खेलबाट ११ अंकसहित ११ औं स्थानमा रहेको छ ।

साविक विजेता लिभरपुलको ७ खेलबाट १६ अंक छ र दोस्रो स्थानमा झरेको छ । लिगकै अर्को खेलमा बर्नली र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।