मुम्बई पाँचौं पटक आईपीएल च्याम्पियन
2020/11/10, 11:19
 
cricket

मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो ।  दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे । यस्तै इशान किसनले अविजित रहदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे ।  ओपनर क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादबले १९ रन जोडे । केइरन पोलार्ड ९ रनमा आउट भए ।

दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १/१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स खेले ।  श्रेयसले अविजित रहदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । यस्तै दिल्लीका शिखर द्वन १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस सुन्य रनमा आउट भए । अक्षर पटेलले ९, शिम्रन हिटमायरले ५ र अजिन्का रहाणेले २ रन जोडे ।  मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । नाथन कल्टरजयन्त यादबले १/१ विकेट लिए ।

यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो । मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ ।

यो हारसँगै दिल्ली एकै सिजन मुम्बईसँग लगातार चौंथो खेलमा पराजित भएको हो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली यस अघि लिगको दुई भेट र पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो । यस्तै सन्दीपले यस सिजन दिल्लीको टिमबाट मैदान उत्रन पाएनन् ।