खाना पानी अभियान अन्तर्गत भारतबाट आएका २ हजार २ सय जनालाई खाना खुवाईयो 
2020/05/27, 5:45
 
khana

भारतका बिभिन्न शहरबाट आएका २ हजार २ सय जना नेपालीलाई आज धनगढीसंग जोडिएको गौरीफन्टा नाकामा खाना खुवाईएको छ । भारतबाट आएका नेपालीहरुका लागि खाना पानी सहयोग अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका–२ स्थित नवदुर्गा माध्यामिक विद्यालयमा रहेका भारतबाट आएका १ सय ५० जना र त्रिनगर माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ सय जना समेत गरी भारतबाट आएका २ हजार २ सय जनालाई समेत खाना खुवाईएको हो । ।

अभियान अन्तर्गत आज दिनभरीमा भारतबाट आएका नेपालीहरुलाई ३ सय ४० कार्टुन पानी वितरण गरिएको थियो । वेष्टर्न फार्मेसीका सञ्चालकद्धय प्रमोद शर्मा न्यौपाने र प्रेम बिसीका तर्फबाट १ हजार जनालाई, महावीर किराना स्टोरकी सञ्चालिका मिनाक्षी शर्माका तर्फबाट ५ सय जनालाई, राठी ईन्टर प्राईजेजका सञ्चालक सुरेन्द्र राठीका तर्फबाट २ सय जनालाई, व्यवसायी रतन बोत्राका तर्फबाट ३ सय, मारवाडी सेवा समितिका सत्यप्रकाश मोहपालका तर्फबाट २ सय जनालाई खाना खुवाईएको थियो । त्यस्तै भारतबाट आएका नेपालीहरुका लागि मेरो श्रृंगारका सञ्चालक तथा युवा उद्यमी मञ्चका सदस्य सुरेन्द्र श्रेष्ठका तर्फबाट २ सय कार्टुन मिनरल वाटर र सुनिल चौधरीका तर्फबाट ९१ कार्टुन मिनरल वाटर वितरण गरिएको थियो ।

समाजसेवी श्याम तायलको अगुवाईमा शुरु भएको भारतबाट आएका नेपालीहरुलाई खाना खुवाउने अभियान अन्तर्गत शुरुवाती दिनदेखि नै निरन्तर रुपमा भारतबाट आएका नेपालीहरुलाई खाना र पानी वितरण गरिदै आएको छ । समाजसेवी तायलले भारतबाट नेपाली आउनेक्रम जारी रहेसम्म अभियान जारी रहने बताए । भारतबाट आएका नेपालीहरु खाना र पानी नपाएर तडपिएको देखेर व्यक्तिगत खर्चमै कम्तिमा ५० हजार जनालाई खाना र पानी खुवाउने सोचका साथ यो अभियान शुरु गरेका हौ, समाजसेवी तायलले भने, पछिल्ला दिनमा थुप्रै मनकारी व्यक्तिहरु यो अभियानमा जोडिएर आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

जसले हाम्रो मनबोल उच्च भएको छ । समाजसेवी तायलले यो अभियानमा जोडिन र सहयोग गर्न ईच्छुक व्यक्तिहरुलाई सम्पर्क गर्न समेत आग्रह हो । यो कुनै व्यक्तिका लागि व्यक्तिले सञ्चालन गरेको अभियान होईन, यो हामी सबै नेपालीहरुको अभियान हो । र नेपालीहरुको पीडा र दुःखमा मल्हम लगाउने अभियान हो, उनले भने, यो विपतको घडीमा नेपाली दाजुभाईहरुलाई सहयोग गर्न ईच्छुक जोसुकै व्यक्तिलाई हामी स्वागत गर्दछौ ।

अभियान अन्तर्गत धनगढीमा लकडाउनका कारण छाक टार्न समस्या भएका व्यक्तिलाई समेत खाना खुवाईने तायलले बताए । यो अभियान अन्तर्गत भारतबाट आएर धनगढीमा अलपत्र परेका देशका बिभिन्न जिल्लाका नागरिकलाई बसको व्यवस्था गरी गन्तव्य सम्म पठाईने गरिएको छ । यो अभियानमा पछिल्लो केही दिनयता थुप्रै मनकारी व्यक्तिहरु जोडिएका छन् । जसले अभियानमा मिनरल वाटर, खाना र पानीका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।

समाजसेवी तायलको अगुवाईमा शुरु भएको नेपालीहरुका लागि खाना पानी अभियानमा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँद लगायतको सहभागिता रहेको छ । पत्रकार दीर्घराज उपाध्यायले यो अभियानमा संयोजनकारी भूमिका निर्बाह गरिरहेका छन् । यो अभियानमा शुरुवाती दिनदेखि कैलाली हार्डबेयर संघका अध्यक्ष सुरेन्द्र राठीले सहयोग गर्दै आएका छन् ।

अभियानमा बालाजी खाद्य उद्योगका सञ्चालक सम्पतलाल छाजेडले ३६ कट्टा चामल उपलब्ध गराएका छन् । उनले अभियान जारी रहेसम्म सहयोग गर्ने बताएका छन् । यो अभियानमा राउण्ड टेवल नेपाल, मारवाडी युवा मञ्चले समेत सहभागिता जनाएको छ । धनगढीको चौलानी होटलमा सञ्चालित मेसमा भारतबाट आएका नेपालीहरुका लागि खाना पाक्दै आएको छ ।