प्रवासबाट सीमामा पुग्दा बेहोस भए, अस्पतालमा अस्ताए बन्तौला
2020/05/27, 7:47
 
korona

पछिल्ला केही दिनदेखि दैनिक हजारौंको संख्यामा नेपालीहरु भारतबाट आईरहेका छन् । गत मंगलबार छोटो सयका लागि खोलिएको गौरीफन्टा नाकाबाट पाँच हजार बढी नेपाली जन्मभुमी भूमीमा पुगे । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ९ का वीरवहादुर बन्तोला पनि त्यही भीडमा थिए ।

स्वदेशी माटोमा टेक्न पाउँदा उनी मात्रै होईन संगै फर्किएका ३७ जना मख्ख थिए । महाराष्ट्रको रत्नागिरीबाट स्वदेशका लागि ३७ जनासँग गाडी रिजर्भ गरेर हिँडेका थिए उनी । प्रति व्यक्ती साढे ७ हजार रुपैयाँ भाडा तिरेर गौरीफन्टासम्म पुगेका थिए उनीहरु ।  नाकामा आइपुगेपछि भने बन्तोला एक्कासी बेहोस भए ।

सँगै आएका शेरबहादुर ताडीले भने, ‘१२,÷१३ घण्टासम्म खाना पनि खाएका थिएनौ । शरिर दुख्न थालेपछि बन्तोलाले औषधी सेवन गरेका थिए । नाकामा पुग्नासाथ उनी बेहोस भए ।’ नाकामा बेहोस भएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा ल्याईयो । ‘स्वास्थ्य जाँच गर्दा उनको अवस्था सामान्य नै थियो,’ सेती प्रादेशिक अस्पतालले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘भारतबाट आएको हुनाले निजलाई निगरानीको लागि आईसोलेसनमा राखिएको थियो । राति पनि उनको अवस्था सामान्य थियो । बिहान ६ बजे उनको मृत्यु भयो ।’

अस्पतालका अनुसार भारतको अस्पतालमा जाँच गराउँदा चिकित्सकले उनलाई दिमागको शल्यक्रिया गर्नुपर्ने र खर्च धेरै लाग्ने बताएका थिए । तर आर्थिक समस्याका कारण उनले शल्यक्रिया गर्न सकेनन । मृतक बन्तोला गत पुस पहिलो साता भारत गएका थिए । आँप टिप्ने सिजनमा उनी भारत जान्थे भने सिजन सकिएपछि घर फर्किन्थे । उनको घरमा श्रीमती र ४ जना नाति नातिना छन् । उनका ४ जना छोरा बुहारी भने मजदुरीका लागि भारतमै छन ।