कोरोना सङ्क्रमणका कारण धनगढीका युवकको मृत्यु 
2020/11/18, 8:52
 
corona

कोरोना सङ्क्रमणका कारण धनगढीका एक युवकको भारतमा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–६ नजरिया टोल निवासी अन्दाजी ३५ वर्षीय टिकाराम कुँवरको भारतको सुरतमा हिजो मृत्यु भएको उनका आफन्त डन्डीराज सुबेदीले जानकारी दिए । गुजरात सुरतमा काम गर्दै आएका उनलाई  करिब चार महिना अघि सङ्क्रमण पुष्टि भएको थियो ।

सुरुमा सरकारी अस्पतालमा भर्ना भएका उनलाई उपचार हुन नसक्ने भन्दै पछि मिसन नामको निजी अस्पताल भर्ना गरियो । उनको उपचारका क्रममा  साढे आठ लाख खर्च भइसकेको थियो । अस्पतालले थप ५ लाख रकम लाग्ने बताएपछि उनी सँग भएको पैसा सकिएका कारण धनगढीका युवाहरूले रकम सङ्कलन गर्न टिकाराम बचाउ अभियान सञ्चालन गरेका थिए । तर उनको उपचारकै क्रममा हिजो निधन भयो, बचाउन सकिएन अभियानका सदस्य डन्डीराज सुबेदीले  भने ।

मृतकका श्रीमती र तिन साना छोरा छोरी छन् । छोरा छोरी धनगढीमै छन् भने श्रीमती भारतमा श्रीमान् सँगै थिइन  । हिजो उनको भारतमै दाहसंस्कार गरिएको छ ।