धनगढीका धावक गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट
2020/11/21, 2:35
 
gopi parki

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपाललाई ऐतिहासिक गोल्ड मेडल विजेता गोपिचन्द्र पार्की टोकीयो ओलम्पिकका लागि छनोट भएका छन् । धनगढीका धावक पार्कीले नेपालगन्ज म्याराथनको छैटौं संस्करणमा विजेता बनेसँगै टोकियो ओलम्पीकमा स्थान पक्का गरेका हुन् ।  ओलम्पिक छनोट प्रतियोगिताका रुपमा समेत रहेको नेपालगन्ज म्याराथन विभागीय टीम नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्कीले जितेका हुन् ।

ओलम्पिकमा एथ्लेटिक्स खेलाडीले भाग लिने नेपालगन्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जनाएका थिए । उनका अनुसार कोरोना महामारीका कारण थप प्रतियोगिताहरु नहुने भएकाले यही प्रतियोगितालाई ओलम्पीक छनोटका रुपमा लिएको थियो । शनिबार बिहान भएको म्याराथनमा सागमा ५ हजार मिटर दौडका स्वर्ण विजेता पार्कीले विभागीय टोली त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै च्याम्पियन बनेका हुन् । पार्कीले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे ।

दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डको समय निकालेका थिए । त्यस्तै आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा दौड पुरा गरे । गत वर्षका विजेता आर्मीकै नवराज साउँदले २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा चौथो स्थान हासिल गरे । च्याम्पियन बनेका पार्कीले ७५ हजार हात पारे । त्यस्तै, दोस्रो भएका बस्नेतले ३० हजार तथा तेस्रो भएको भाटले २० हजार हात पारे । नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र पाँचौमा सेनाका नवराज साउँदले प्रतियोगिताको उपाधि जितेका थिए ।