हरिद्वारबाट हिँडेरै गड्‍डाचौकी !
2020/11/21, 6:03
corona

मलिन अनुहार । थाकेर गलेको ज्यान । मंसिरको चिसोमा जीउको एकसरो लुगा अनि हातमा पातलो कम्बल । शुक्रबार कञ्चनपुरको गड्डाचौकी नाकामा यस्तै हुलियामा भेटिए ४१ वर्षीय तीर्थबहादुर सारू मगर ।  घरपरिवारसँगै तिहार मनाउने योजनासहित सुर्खेतको लेकबेंसी नगरपालिका–९ दमार गाउँका सारू मगरले कात्तिक २८ मा भारत उत्तराखण्डको रुद्रप्रयागबाट यात्रा थाले । छोराछोरी र श्रीमतीका लागि नयाँ लुगा र तिहारका लागि मीठोमसिनो खानेकुरा लैजाने उनको योजना थियो । तर उक्त योजना रुद्रप्रयागबाट हिँडेको केहीबेरमै भताभुंग भयो । हरिद्वारमा नेपालीहरूबाटै लुटिएपछि उनले न त घरपरिवारसँगै तिहार मनाउन पाए, न परिवारका लागि नयाँ लुगा लैजान । ‘मेरो तिहार त बाटोमै बित्यो, आफ्नै दाजुभाइले लुटेपछि हरिद्वारमै अलपत्र परें,’ उनले भने, ‘शरीरमा भएको लुगासमेत बाँकी राखेनन् ।’


साथमा रहेको ८५ हजार भारतीय रुपैयाँ, चार जोर कपडा, दुई सेट मोबाइल र दुई जोर जुत्ता सबै लुटिएको उनले बताए । हरिद्वारमा लुटिएर अलपत्र परेपछि उनी पैदल हिँडेर सातौं दिनमा गड्डाचौकी नाका आइपुगेका हुन् । दिनभरि हिँड्ने र राति प्रतीक्षालय वा पसलको अगाडि सुत्दै गड्डाचौकीसम्म आइपुगेको उनले सुनाए । कसैले केही दिए खाने नत्र भोकै रात काटेको उनको भनाइ छ । ‘एकातिर भोक, अर्कोतिर एकसरो लुगामा रातिको चिसो, निकै गाह्रो भयो,’ करिब २ सय किलोमिटरको दुरी पार गर्न सात दिन पैदल हिँड्दाको पीडा सुनाउँदै उनले भने, ‘एक ठाउँमा बाल आश्रममा पुगेपछि एक छाक खाना र पातलो कम्बल दिए, राति ओढ्न सजिलो भयो ।’ त्यही कम्बल काखीमा च्यापेर उनी गड्डाचौकी आइपुगेका हुन् ।

तिहारको दिन सबैतिर झिलिमिली थियो । साँझपख बाटो वरपरका घरमा देखिने चकमन्नताले उनको मन झनै उदास हुन्थ्यो । ‘घरमै तिहार मनाउने इच्छा थियो, सडकमै रात काटें,’ उनले भने । उनी एक दशकअघिदेखि रुद्रप्रयागमा काम गर्छन् । मजदुरी गर्न त्यहाँ पुगेका उनी पछिल्लो पटक भने गाउँबाट कामदार लैजाने र विभिन्न ठाउँमा काममा लगाउँछन् । ‘यताबाट कामदार लैजाने र उनीहरूको पैसा घरसम्म पु¥याउने काम गर्थें,’ उनले भने, ‘अहिले पनि धेरै कामदारकै पैसा बोकेर आएको थिएँ, सबै लुटेर लगे ।’

कात्तिक २८ को साँझ उनी घर फर्किन रुद्रप्रयागबाट बस चढेका थिए । ऋषिकेशमा त्यही बसमा थपिए तीनजना नेपाली । उनीहरू सारू मगरकै छेउमा बसे । एकआपसमा परिचय पनि गरे । दुईजना दाङ र एक कोहलपुरको भन्दै उनीहरूले सारू मगरसँग परिचय गरेका थिए । ‘हामी पनि उतै जाने हो, सँगै जाउँ भने,’ सारू मगरले भने, ‘हरिद्वारमा पुग्नेबित्तिकै चिसो पियौं, त्यो पिउनेबित्तिकै म त बेहोस भएँ । सडकछेउमै लडेको थिएँ ।’ होसमा आउँदा पैसा, कपडा त परै जाओस्, शरीरमा एकसरो कपडा पनि थिएन । लुटिएपछि उनले हिँडेरै भए पनि घर आउने निधो गरे । एक सातासम्मको पैदल यात्रामा एकरदुई छाक मात्रै खाना खान पाएको उनले बताए । हरिद्वारमा लुटिएपछि रुद्रप्रयागमा रहेका साथीभाइलाई उनले फोनमार्फत जानकारी गराएका थिए । त्यही जानकारीका आधारमा उनका परिवारले पनि थाहा पाए । घरबाट उनलाई खोज्न आफन्त हरिद्वारसम्म पुगेका छन् । शुक्रबार नाकामा आइपुगेपछि उनलाई कोहलपुरबाट आएका आफन्तले लिएर फर्केका छन् ।