बर्खे तरकारी किलोको ५० रुपैयाँसम्ममा बिक्री भएपछि बैतडीका किसान हर्षित
2020/11/23, 7:33
 
gobi

बारीमा उत्पादित बर्खे तरकारीको भाउ राम्रो पाएपछि बैतडीका किसानहरू खुसी भएका छन् । अन्य वर्षको तुलनामा यो वर्ष तरकारीको भाउ राम्रो पाइएकाले बर्खे तरकारीबाट फाइदा भएको दशरथचन्द नगरपालिका १ को सतबाँझका किसान कृष्णदत्त भट्टले बताए । यो वर्ष भारतबाट तरकारी आयात नहुँदा किसानहरूले बारीमा फलाएको तरकारीले बजार मूल्य राम्रो पाएको हो । अघिल्ला वर्षहरुमा प्रतिकेजी १० रुपैयाँमा बिक्री हुने बन्दा यो वर्ष ५० रुपैयाँका हिसाबले बिक्री भएको किसान भट्टले बताए ।

बन्दाबाटै आफूले यो वर्ष दुई लाख रुपैयाँभन्दा धेरै कमाएको भट्टले बताए । गएका वर्षमा बजार मूल्य नपाउँदा बारीमै बन्दा राख्नुपरेको तितो अनुभव भए पनि यो वर्ष तरकारीले समयमै राम्रो बजार मूल्य पाएको किसान कृष्णबहादुर बोहराले बताए । भारतबाट तरकारी आयात नभएपछि आफूहरुले फलाएको तरकारीले बजार पाएको उनले बताए ।

बारीमा लगाएको बन्दा गएको वर्ष बजार भाउ नपाउँदा प्रतिकेजी सात रुपैयाँका हिसाबले बिक्री गरेका सुर्नया गाउँपालिका ६ का किसान केशवदत्त अवस्थीले यो वर्ष बन्दा प्रतिकेजी ४० रुपैयाँका हिसाबले बारीबाटै बिक्री गरेको बताए । भारतीय तरकारीको बजारमा दबदबा रहेका बेला लकडाउनले गर्दा किसानलाई भने फाइदा भएको छ । बारीमा फलाएको सबै तरकारी यो वर्ष बजारमा राम्रो मूल्यमा बिक्री भएको किसानहरूले बताएका छन् ।

बैतडीबाट यो वर्ष ५० हजार क्विण्टल बन्दा बिक्री भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । 
बैतडीमा चार हजार ६ सय हेक्टर जमिनमा तरकारी खेती हुँदै आएको छ । प्रत्येक वर्ष व्यावसायिक तरकारी खेती गर्ने किसानहरुको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दले बताए ।