तलब माग गर्दै शिक्षकले लगाए ताला
2020/11/23, 11:17
 
badi

कञ्चनपुर स् सामुदायिक विद्यालयका शिक्षकहरुले तलब माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेका छन्। माध्यमिक तथा आधारभुत तहमा शिक्षण सिकाइ सहयोग अनुदानअन्तर्गत कार्यरत अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरुले तालाबन्दी गरेका हुन्।

अनुदानका लागि विनियोजन भएको बजेट शैक्षिक सत्रको आठ महिना बितिसक्दा पनि निकासा नहुँदा तालाबन्दी गर्नु परेको शिक्षण सिकाइ सहयोग अनुदान शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष बलवीर सिंह भण्डारीले बताए। तलब पाउन नसक्दा दशंै तिहारमा रितो हात बस्नु परेको उनले दुखेसो पोखेका छन्।

चालु शैक्षिक सत्रको तलब भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, शिक्षण सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षकहरुलाई नै निरन्तरता दिइनुपर्ने र दरबन्दी मिलान वा अन्य बहानामा कार्यरत शिक्षकहरुलाई विस्थापित गर्न नहुने माग शिक्षकहरुको छ। साथै, शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रम अन्तर्गत कार्यरत शिक्षकहरुलाई पनि अन्य शिक्षक सरह नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा प्रदान गरिनुपर्नेलगायतका माग संघर्षरत शिक्षकहरुको  छ। 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत स्थानीय तह हुँदै विद्यालयको खातामा अनुदानको रकम अघिल्लो आर्थिक वर्षको बजेटबाट चालु शैक्षिक सत्रका लागि असार मसान्तभित्र एकमुष्ट रुपमा निकासा हुने गरेको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा अनुदानको रकम विनियोजन भइसक्दा पनि अहिलेसम्म निकासा नभएकाले शिक्षकहरुको भनाइ छ।