‘आहा ! उरै त स्वर्गकै टुक्रा रहेछ,’ चीनसँग सीमा जोडिएको बझाङको उरै भन्ज्याङमा पहिलो पटक पुग्दा संघीय सांसद आशा विकले रोमाञ्चित हुँदै भनिन्, ‘यति सुन्दर ठाउँ पनि हाम्रो जिल्लामा होला भनेर मैले त कल्पनै गरेको थिइनँ । यो त सम्भावनाको खानी रहेछ ।’ समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको उरै क्षेत्रलाई चारैतिर हिमालले घेरेको छ । केही दिनअघिको हिमपातले यहाँको वातावरण हिउँमय भएको देखेर सांसद विक मात्रै होइन, सीमा अवलोकनमा पहिलो पटक पुगेका सबै जना मोहित भए । सुन्दरताका हिसाबले चित्ताकर्षक लाग्ने उरै नाका ‘तस्करीको हब’ का रूपमा देशैभर बदनाम छ । खुला नाका र सुरक्षा निकायको शून्य उपस्थितिको फाइदा उठाउँदै तस्करहरूले बहुमूल्य जडीबुटी, वन्यजन्तुका आखेटोपहार, रक्तचन्दन जस्ता वस्तुहरू यही नाका भएर चीनको तिब्बतमा खुलेआम निकासी गरिरहेका छन ।
‘पर्यटनको अन्तर्राष्ट्रियस्तरको गन्तव्य हुनुपर्ने ठाउँ तस्करीको हब भएको देख्दा दुःख लाग्यो,’ अर्का सांसद प्रकाश स्नेहीले बझाङका सीडीओ कमलराज भण्डारीलाई भने, ‘अवैध कारोबार पूर्णरूपमा नियन्त्रण गर्ने गरी कार्ययोजना ल्याउनुस् । त्यसको कार्यान्वयनका लागि कहाँ, के गर्नुपर्छ हामी पनि लाग्छौं ।’ त्यहाँको वस्तुस्थिति बुझ्नका लागि प्रतिनिधि सभाका सदस्य र सुरक्षा निकायका प्रमुखहरू उरै पुगेका थिए । उरै नाकासम्म पुग्ने सांसद र सुरक्षा निकायका प्रमुखको टोली हालसम्मकै पहिलो हो । टोलीमा प्रतिनिधि सभा सदस्यद्वय विक र स्नेहीसँगै साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामी पनि थिए । यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, बझाङस्थित नेपाली सेनाको संग्राम शार्दूल गुल्मका गुल्मपति डायमन्ड कार्की, सशस्त्र प्रहरी बलका बझाङ प्रमुख डीएसपी दामोदर ढोडारी लगायत पनि टोलीमा सहभागी थिए ।
सीमामा हुने तस्करी नियन्त्रण गरिदिनका लागि संघीय र प्रदेश सरकारका विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै हिँडेका साइपाल गाउँपालिका अध्यक्ष धामीकै पहलमा जिल्लाका उच्च पदस्थहरू पहिलो पटक सीमामा पुगेका हुन । उनीहरू हेलिकप्टर मार्फत उरै पुगेका थिए । टोलीका सदस्यहरूले खुला सीमा र सुरक्षा निकायको अनुपस्थितिको फाइदा उठाउँदै तस्करहरूले यो नाकामा वर्षका सात महिनाभन्दा बढी राज गर्ने गरेकाले भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुपर्ने निष्कर्ष निकालेको टोलीका सदस्य प्रजिअ भण्डारीले बताए । ‘हिउँदमा हिउँ पर्ने भएकाले आफैं सीमा सिल हुने रहेछ,’ प्रजिअ भण्डारीले भने, ‘चैतदेखि कात्तिकसम्म भने यहाँ सुरक्षा व्यवस्था नगरी नहुने देखियो
खुला सीमामा सुरक्षा नहुँदा तस्करहरूले मनपरी गर्ने रहेछन् ।’ उनले विकट हिमाली भूगोल र सीमा आसपास मानवबस्ती नभएका कारण स्थायी सीमा सुरक्षा पोस्ट खडा गर्न नसके पनि चैतदेखि कात्तिकसम्म अस्थायी सुरक्षा क्याम्प खडा गर्नुपर्ने देखिएको बताए । उनले धुली गाउँमा राख्ने भनिएको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट पनि धुलीभन्दा एक दिन टाढा रहेको चोराचौरसम्म राख्ने विषयमा जिल्ला सुरक्षा समिति र गृह मन्त्रालयसँग छलफल गरिने बताए । ‘तस्करी नियन्त्रणका लागि प्रदेशदेखि केन्द्रसम्म धाउँदाधाउँदै थाकियो, एक पटक सांसद र सुरक्षा निकायका प्रमुखलाई यहाँको वस्तुस्थिति र भूगोल प्रत्यक्ष देखाए केही प्रगति हुन्छ कि भनेर स्थलगत अवलोकनका लागि पहल गरेका हौं,’ गाउँपालिका अध्यक्ष धामीले भने, ‘सबै कुरा आफ्नै आँखाले देखेपछि उहाककँहरूलाई पनि पहल गर्न सजिलो होला ।’
सांसदहरूले सुदूरपश्चिमको समृद्धिको ढोका मानिएको चैनपुर–ताक्लाकोट सडकलाई सुरुङमार्ग बनाउन र बृहत् साइपाल पर्यटन विकास योजना तयार गर्न संघीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन । ‘सामान्य पूर्वाधार निर्माण गरेर प्रचारप्रसार गर्न सके यो क्षेत्र विश्वस्तरीय गन्तव्य बन्ने निश्चित छ, यसका लागि मेरोतर्फबाट सक्रिय पहल र समन्वय हुनेछ,’ सांसद स्नेहीले भने । सांसद विकले पश्चिम नेपालकै व्यापार र पर्यटनमा कायापलट गर्ने अपेक्षा गरिएको चैनपुर–ताक्लाकोट सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी सुरुङमार्ग निर्माण गर्न पहल गर्ने बताइन ।
चीन र भारतलाई सबैभन्दा छोटो दूरीमा जोड्ने यो सडकको सीमा जोडिएको भागमा ६ महिना हिउँ जम्ने भएकाले यहाँ सुरुङ निर्माणको विकल्प नभएको उनले बताइन । साइपाल क्षेत्रको बृहत् पर्यटन विकासका लागि गाउँपालिकाको प्रयास मात्रै पूर्ण नहुने भएकाले संघ र प्रदेश सरकारले सहयोग गरेमा पालिकाले पनि बजेटको ठूलो हिस्सा त्यसैमा लगानी गर्ने गाउँपालिका अध्यक्ष धामीले बताएको खबर वसन्तप्रताप सिंहले कान्तिपुरमा लेखेका छन् ।