घर खर्च धान्न मुस्किल भएपछि फेरि भारत फर्किने युवाको संख्या अछाममा दिनदिनै बढिरहेको छ । कोही कर्जा लिएर त कोही मोबाइल बेचेर यातायात खर्च जुटाई नाका काटिरहेका छन् । कोरोना महामारीका कारण भारतबाट फर्किएका उनीहरू खर्च जुटाउनकै लागि फेरि उतै गइरहेका हुन् ।
ढकारी गाउँपालिका–१ का नयन बुढा बुधबार कमलबजार बसपार्कमा भेटिए । रातो अक्षताले उनको निधार भरिएको थियो । गहभरि आँसु पारेर उनी बसपार्कसम्म पुर्याउन आएका परिवारलाई सम्झाउँदै थिए । ‘घरमा बसेर पनि के गरौं । आठ महिना घरमा बस्दा धेरै समस्या भयो । बिरामी आमालाई उपचार गर्न पनि त पैसा चाहियो,’ उनले भने, ‘उतिखेर रोगको डरले आइयो । अब परिवारको चिन्ताले फर्किंदै छु ।’
कमलबजार नगरपालिका–१ मुलीका ३४ वर्षीय रतन विष्टको समस्या पनि नयनबहादुरको जस्तै छ । उनी १५ वर्षकै उमेरदेखि कामको खोजीमा भारत जान थालेका हुन् । यो अवधिमा उनी वर्षमा एक–दुई पटक घर आउने गर्थे । भारतमा कहिले होटेलमा, कहिले गाडी धुने त कहिले सडक सफा गर्ने काम गर्थे । महामारी फैलन थालेपछि गत चैत ७ गते उनी घर फर्किए । चार छोराछोरी, पत्नी, आमाबुबा सबैको खर्च उनैले बेहोर्न पर्छ । घरमा बस्दा आम्दानीको स्रोत नभएपछि उनलाई छटपटी भयो ।
गाउँमा रोजगारी थिएन । ऋण पनि कसैले पत्याएन । अनि फेरि भारत जाने निधो गरे । ‘पहिले भारतको पुणेमा एउटा होटेलमा काम गर्थें, गाडी धुन्थेँ । अहिले साहूलाई सम्पर्क गर्दा अवस्था सामान्य भएको छैन, काम दिन सक्ने अवस्था छैन भने,’ उनले भने, ‘आफूसँग एउटा मोबाइल थियो । त्यही बेचेर गाडीभाडा जुटाएँ । अब काम पाइन्छ–पाइन्न, केही थाहा छैन ।’
भारत जान कमलबजार बसपार्कमै भेटिएका तुमाखाँदका दीपक नेपाली चिन्तित देखिन्थे । पहिले भारत जाँदा काम पाउनेमा ढुक्क हुन्थे, यसपालि छैनन् । ‘उत्तर प्रदेशमा रोजगारीका लागि गएको तीन महिनामै घर फर्कनुपर्यो । त्यहाँ एक महिना काम खोज्नै लाग्यो । दोस्रो महिनादेखि एउटा होटेलमा काम पाएको थिएँ । अर्को महिना कोरोनाको त्रासले होटेल बन्द भयो,’ उनले सुनाए, ‘होटेल बन्द भएपछि रोजगारी गुम्यो । साँझ–बिहान छाक टार्नसमेत मुस्किल भयो ।’
घरमा आएपछि समस्या झन् बढेको नेपालीले बताए । ‘आफू मात्रै भए त जेनतेन गुजारा चल्थ्यो । नखाएरै बसे पनि तनाब हुन्थेन । आमा–बुबा श्रीमती र छोराछोरीको चिन्ता लाग्छ,’ उनले भने । दुई–तीन महिना खेतबारीको उब्जनीले धाने । त्यसपछि चुलो बाल्नै नसक्ने अवस्था आयो । कमाइ गरेर खान पर्याप्त जग्गा पनि छैन । ‘सबै परिवारको पालनपोषण गर्न दुई–चार पैसा कमाउने मान्छे नै बेरोजगार भएपछि कसर चल्नु रु,’ उनले भने, ‘त्यसैले भारत फर्किनुको विकल्प रहेन ।’
लकडाउनको अवधिमा मात्रै अछाममा २५ हजारभन्दा बढी भारतबाट फर्किएको स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ । भारतबाट आएकाहरू फेरि फर्किन थालेको बस व्यवसायीहरू बताउँछन् । अछामबाट दिनकै एक हजारभन्दा बढीको संख्यामा भारत जान थालेको उनीहरूको भनाइ छ ।