ओलम्पिक खेल्नका लागि गोपी छनोट भएपछि उनका परिवार र गाउँलेहरुमा खुशीयाली छाएको छ । गोपीचन्द्र पार्की आगामी बर्ष जापानमा हुने टोकियो ओलम्पिकको तयारीमा जुटेका छन् । नेपालको प्रतिनिधित्व गर्दै ओलम्पिकमा सहभागी हुन पाएपछि उनी त्यसको तयारीमा जुटेका हुन् ।
धनगढीका धावक पार्कीले नेपालगन्ज म्याराथनको छैटौं संस्करणमा विजेता बनेसँगै टोकियो ओलम्पीकमा स्थान पक्का गरेका थिए । ओलम्पिकमा एथलेटिक्स खेलाडीले भाग लिने नेपालगन्ज म्याराथन अन्तिम छनोट प्रतियोगिता रहेकोले त्यसमा विजेता हुदैं उनको यात्रा टोकियो ओलम्पिकसम्म पुगेको हो । सागमा छोराले दौड्दा टिभिमा हेर्न पाएकी उनकी आमा मनुले नेपालगंज म्याराथुनको नतिजा गोपीले फोन गरेपछि मात्रै थाहा पाईन् ।
उनले ओलम्पिक यात्राको पनि आर्शिवाद दिईन् । ‘हामीलाई गोपीले दौड्यापछि धेरै निको भया छ । जस दौडेई । पुरस्कार जितेई । हमरो आर्शिवाद छ । देउताको आर्शिवाद छ । सबै नेपाली मान्सेको आर्शिवाद छ ।’ गोपीका आमाबुबा भजन र मनुले भने –‘हमलाई घरमा जसो भएपनि हातखुट चलन्ज्यास् खान लाउन पुगिजाओ, त चेला दौडेर पदक आईजाओ । त्यईपछि तेरो ब्या होईजाओ । घरमी बुहाई आई जाउ ।’
चार पाँच कक्षामा पढ्दाखेरी नै उनका घरमा मेडल र सिल्डहरु भरिन थालेका थिए । स्कुल पठाएर छोराले प्रगति नै गरेछ भने बुबा आमा पनि खुशी नहुने कुरै भएन् । ‘घडीमा कति बज्यो भन्ने पनि थाहा हुन्थेन् भाईलाई । कति दिन त रातिको दुई बजे नै गएर दौड्थ्यो । गोपीका जेठा दाजु लक्ष्मणले भने– ‘पछि आर्थिक अवस्थाले पढ्न नपाए पनि अहिले दौडेर देशको नाम राखेको छ । सुदुरपश्चिमको नाम राखेको छ । हामी सबैको नाम राखेको छ । आत्मैदेखि खुशी छौं । अबको ओलम्पिकमा पनि राम्रो होऔं हामी सबैको आर्शिवाद छ ।’
गोपीको सफलताले परिवार र छिमेकलाई पनि उत्साहित बनाएको छ । ‘हामी पिछडिएको वर्गबाट माथि उठेर यहाँसम्म पुग्ला भन्ने कल्पना पनि गरेका थिएनौं । गोपीको सफलताले सपनामा देखेका चिजहरु पनि पुरा हुन्छन् भन्ने लाग्न थालेको हामी सबै गाउँलेहरुलाई ।’ स्थानीय तथा गोपीका आफन्त समेत रहेका हुकुम सिंह पार्कीले भने– ‘दाजु भाउजुले आधा पटे खाई नखाई मेहनत गर्नुभएको थियो । त्यसलाई गोपीले सार्थक बनायो । टोकियो ओलम्पिकमा पनि राम्रो गरोस् भन्ने शुभकामना दिन चाहन्छौं ।’
अघिल्लो बर्ष सागमा स्वर्ण जितेका पार्की अब कीर्तिमानधारी बैकुण्ठ मानन्धरको २ घण्टा १५ मिनेटकोे समयको कीर्तिमान तोड्ने लक्ष्यमा छन् । धावक बैकुण्ठले म्याराथनमा बनाएको सो कीर्तिमान नेपाली खेलाडीले तोडोस् भन्ने चाहन्छन् । तर, अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा यो रेकर्ड कसैले पनि तोड्न सकेका छैनन् । ‘बैकुण्ठ गुरुको योजना छ । उनको २ घण्टा १५ मिनेटको म्याराथनको रेकर्ड कुनै नेपाली खेलाडीले तोडिदिओस् भन्ने । अब म म्याराथन खेल्छु, त्यो रेकर्ड तोड्छु, पार्कीले भने, ‘यस अघि पनि मैले ६ म्याराथनमा दौडिसकेको छु ।’
उनले अब ओलम्पिक र एसियन गेम्समा सहभागिता मात्र नभई पदकको दाबेदारका हिसाबमा नेपालको चुनौती प्रस्तुत गर्ने बताए । अहिलेसम्म राष्ट्रिय कीर्तिमान र सहभागिताका लागि मात्र ओलम्पिक र एसियन गेम्समा सहभागिता हुने परम्पराको अन्त्य गर्ने उनको भनाई छ । १३ औं सागमा ५ किलोमिटरमा स्वर्ण जितेका उनले मिडिल अडरको दौड छाडेको बताए । उनले म्याराथुनमा मात्र कीर्तिमान भएकाले त्यो ब्रेक गर्न आफूले मिडिल अडरको दौड छाडेको बताए । आफू जन्मिनुभन्दा दुई वर्ष अगाडी बनेको कीर्तिमान ब्रेक गर्नु आफ्ना लागि पनि कोसेढुङ्गा नै साबित हुने उनको बुझाइ छ ।
‘गुमेको पदक फिर्ता ल्याउने सपना अघिल्लो बर्ष नै पूरा भएको छ । अबको लक्ष्य ओलम्पिकमा उत्कृष्ट खेल्ने हो ।’ उनले भने– ‘सपनाको सिमाना हुन्न, जसले पनि देख्न सक्छ, तर पूरा गर्न पछ्याउनै पर्छ ।’ जित–हारले युवावस्थामै गोपीलाई परिपक्व बनाउँदै थियो, तर स्वास्थ्यले एक्कासी धोका दियो– उनलाई कडाखाले जन्डिस भयो । जीवन–मरणको दोसाँधमा पुगेका गोपीलाई गाउँका धामी–झाँक्री त के भारत पञ्जाबका विशिष्ट डाक्टरको औषधीले पनि छोएन ।
एथलेटिक्ससँगको नाता टुट्यो । परिवारले चिकित्सककै परामर्शमा आयुर्वेदिक औषधी सेवन गरायो, जसले सोचेभन्दा चाँडो सुधार ल्यायो। अलि निको भएपछि गोपीले फेरि सपना देख्ने साहस गरे । १२ औं साग खेलेर भारतबाट फर्किएको केही महिनामै उनमा जन्डिस दोहोरियो । फेरि थला परे । नौ महिना प्रशिक्षण प्रभावित भयो । ०७२ फागुनमा बिरामी भएका गोपी ०७३ कात्तिकमा आएर बल्ल हल्का दौडन सक्ने भए । सातौँ राष्ट्रिय खेलकुदका लागि दुई महिना मात्रै प्रशिक्षण गरेका गोपीचन्द्रले प्रतियोगितामा १० हजार मिटर र पाँच हजार मिटर दौडमा स्वर्ण जिते।
आठौँमा पनि यी दुवै ईभेन्टस्मा सफलता दोहो¥याए । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपाललाई ऐतिहासिक गुमेको गोल्ड मेडल फिर्ता ल्याएपछि वडाको पहलमा उनलाई सम्मान गराउने कार्यक्रम तय गरिएको थियो । तर त्यो कार्यक्रम कोरोनाका कारण हुन नसकेको वडा नम्बर ९ का वडाध्यक्ष प्रेमबहादुर भण्डारीले बताए । ‘गोपी टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । यो हामी धनगढीवासी, वडावासीहरुका लागि गौरबको कुरा हो । हामी सबैले सहयोग गर्नुपर्छ ।’ वडाध्यक्ष भण्डारीले भन्नुभयोे– ‘गोपी यो ठाउँको गहना हो । गोपीलाई गर्न सकिने सहयोग हामी वडाको तर्फबाट गर्छौ । धनगढी उपमहानगरपालिकालाई पनि सहयोगका लागि पहल गर्छौ ।’
गोपीका परिवारका सवै दाजु र एक भाईको विहे भईसकेको छ । उनको मात्रै विवाह गर्न बाँकी छ । उनका बुबा आमाले बुहारी भित्र्याउन धेरै ठाउँमा नगएका होईनन् । कतिपय युवतीसँग विहेको कुरा पनि अन्तिम तयारी भईसकेको थियो । तर गोपीले त्यसलाई ईन्कार गरि दिए । ३० वर्ष उमेर पुगेका गोपीलाई बुवा आमाले बिहे गर्नका लागि धेरै ठाउँमा केटी पनि हेरे । तर उनले बिहेभन्दा पनि ओलम्पिक खेल्नुलाई पहिलो प्राथमिकता दिएको आमा मनु र बुवा भजनले भने । छोराले ओलम्पिक खेलेपछि बुबा आमामा बुहारी पनि चाँडै घर आउने आशा पलाएको छ ।