सुदूरपश्चिम प्रदेशका थप ८८ जनामा कोरोना संक्रमण पुष्टि
2020/12/07, 8:27
 
corona

सोमबार सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा करिब साढे ३ सय जनाको परीक्षण गर्दा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल बझाङ र कमलबजार नगरपालिकाको  प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ४३ जनाको परीक्षण गर्दा थप ८८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ६३ जनाको नमूना परीक्षण गर्दा ४४ जना, कमलबजार नगरपालिकाको प्रयोगशालामा ७४ जनाको नमूना परीक्षण गर्दा २२ जना र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा २६ जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको उनले बताए।  डडेल्धुरा अस्पताल प्रयोगशालामा २६ जनाको नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको, त्यसैगरी जिल्ला अस्पताल बैतडीमा ३९ जनाको परीक्षण गर्दा र डोटी अस्पताल प्रयोगशालामा १५ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको कार्कीले बताए।  

सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप १९ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीको मोहन्याल गाउँपालिकाका ६ जना, जानकी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिकाका ४ जना, यस्तै जोशीपुर र कैलारी गाउँपालिकाका १/१ जनामा समेत कोरोना संक्रमण देखिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका २/२ जना, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिका र ठेगाना नखुलेका १/१ जनामा समेत कोराना पुष्टि भएको छ। त्यसैगरी बैतडीको पाटन नगरपालिकाका २ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाकाक १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार १ सय ९१ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका ९ हजार ६ सय ४८ जनाले कोरोना जितेका छन् भने ५८ जनाको मृत्यु भएको छ।