गेटालाई मेडिकल कलेज वा प्रतिष्ठान हैन, मेडिकल विश्वविद्यालय बनाऔँ !
2020/12/09, 9:08
 
geta

०५५ सालतिर कैलालीको गेटा स्थित एक विद्यालयमा ५ कक्षामा अध्ययन गर्दैगर्दा मैले हाम्रै गाउँमा ‘गेटा मेडिकल कलेज’ बन्दै छ भन्ने हल्ला सुनेको र एकजना शंकराचार्यद्वारा गरिएको शिलान्यास कार्यक्रममा सहभागी गराइएका विभिन्न विद्यालयका हजारौँ विद्यार्थीका माझमा म पनि अरूझैँ फूल हातमा लिएर स्वागत गर्न उभिएको सम्झना छ । अब गाउँको विद्यालयका कम्तीमा एक मिहिनेती तथा उत्कृष्ट विद्यार्थीले हरेक वर्ष छात्रवृत्तिमा उक्त मेडिकल कलेजमा अध्ययन गर्न पाउने हल्लाले म पनि हौसिएको थिएँ ।

करिब दुई दशकपछि, सोही ठाउँको जंगलको ठूलो भाग ओगटेर ठुल्ठूला भवन संरचना बनेको देख्दा गेटावरिपरिका मात्रै नभई समग्र सुदूरपश्चिमेली हर्षित छन् र आशाको पुनःसञ्चार भएको छ । तथापि, प्रस्तावित गेटा मेडिकल कलेजको शैक्षिक कार्यक्रम सञ्चालनको मोडेल सरकारले अझै तयार पारिनसकेको र यसलाई मेडिकल कलेज वा छुट्टै प्रतिष्ठानको मोडालिटीमा सञ्चालन गर्ने भन्ने छलफलमै छ । उच्च शिक्षा अध्ययन, अध्यापन, अनुसन्धानका क्रममा मैले नेपाल, दक्षिण कोरिया र अमेरिकामा सँगालेको अनुभव र ज्ञानको आधारमा ‘गेटा मेडिकल कलेज वा प्रतिष्ठान हैन, मेडिकल विश्वविद्यालय हुनुपर्छ’ भन्ने लागेर यो विचारपत्र लेख्ने जमर्काे गरेको छु ।

राष्ट्रिय गौरवको प्रस्तावित गेटा मेडिकल कलेजको भवन संरचना निर्माणमा मात्रै मुलुकको साढे तीन अर्बभन्दा बढी रकम खर्च भइसकेको छ । वर्षौंदेखि प्रतीक्षारत सुदूरपश्चिमका करिब ३० लाख बासिन्दाको स्वास्थ्य तथा चिकित्सा शिक्षा, सेवा, रोजगार र आर्थिक समृद्धिमा दूरगामी टेवा पु¥याउन सक्ने स्वर्णिम सपनाको परियोजना सञ्चालनमा अब बर्सेनि करोडौँ रकम आवश्यक पर्नेछ । खर्चको जोहो त कसैगरी होला नै, सबैभन्दा ठूलो कुरा यसको प्राज्ञिक जग बलियो बसाउनु हुनेछ । समग्रमा राष्ट्रिय गौरव तथा सुदूरपश्चिमको सपना साकार बनाउन सक्ने यस परियोजनालाई आत्मनिर्भर बनाई जनसमुदायको स्वास्थ्यका सम्पूर्ण आवश्यकता परिपूर्ति गर्न सक्ने उच्च कोटिको संस्थाको रूपमा स्थापित हुने बाटोमा डोर्‍याउनु जरुरी छ । 

करिब ५१ हेक्टर क्षेत्रफलमा तयार प्रस्तावित गेटा मेडिकल कलेजलाई कुनै पुरानो विश्वविद्यालय प्रणालीअन्तर्गतको मेडिकल कलेजका रूपमा वा वर्षाैंअघि स्थापना भएर पनि आफ्नो सेवा र शिक्षाको दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको रूपमा सञ्चालन गरिनु कतै सान्दर्भिक हुँदैन । सुदूरपश्चिममा पहिलोपटक नेपाल सरकारद्वारा निर्माणाधीन यस ऐतिहासिक संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग सहकार्य गरी उच्च स्वास्थ्य शिक्षा, अनुसन्धान र उत्कृष्ट स्वास्थ्य सेवा दिन सक्ने केन्द्र तथा नेपालकै पहिलो मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्नु सर्वथा उचित हुनेछ ।

केही वर्ष प्रणाली विकास र अध्यापनका लागि आवश्यक जनशक्तिको कमीजस्ता सामान्य चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ, तर संरचनागत सबलता, सरकारी लगानीको सुनिश्चितता र सुदूरपश्चिमेली जनताको अगाध भरोसालाई आत्मसात् गर्दै यो अवसरलाई एउटा स्तरीय मेडिकल विश्वविद्यालय निर्माणमा उपयोग गर्नु जरुरी छ । संकुचित दायरा र सीमित कार्यक्षेत्रको घेराभित्र सीमित गर्ने गरी गेटालाई मेडिकल कलेज वा प्रतिष्ठानमा विकास गर्दा यसको सम्भावना खुम्चिने भएको हुँदा यसलाई मेडिकल विश्वविद्यालयकै रूपमा विकास गरिनु दीर्घकालीन दृष्टिकोणले वाञ्छनीय छ ।

करिब ५१ हेक्टर क्षेत्रफलमा तयार प्रस्तावित गेटा मेडिकल कलेजलाई कुनै पुरानो विश्वविद्यालय प्रणालीअन्तर्गतको मेडिकल कलेजका रूपमा वा वर्षाैंअघि स्थापना भएर पनि आफ्नो सेवा र शिक्षाको दायरा फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको रूपमा सञ्चालन गरिनु कतै सान्दर्भिक हुँदैन

उत्कृष्ट स्वास्थ्य सेवा दिन थुप्रै किसिमका चिकित्साकर्मी तथा अन्य स्वास्थ्य जनशक्तिको आवश्यकता हुन्छ । यति ठूलो पूर्वाधार र लगानी भएको परियोजनालाई चिकित्सा विज्ञान वा नर्सिङ विज्ञान पढाउने शैक्षिक संस्थाको रूपमा मात्र सीमित गरिनु हुँदैन । सुदूरपश्चिम क्षेत्रमा हालसम्म पनि स्वास्थ्यसँग सम्बन्धित उच्च शिक्षा अध्ययनका लागि एउटा पनि क्याम्पस वा विश्वविद्यालय छैन । चिकित्सा वा नर्सिङ विज्ञान मात्रै नभई फार्मेसी, पब्लिक हेल्थ, मेडिकल ल्याबोरेटरी, फिजिओथेरापी, डेन्टल, अप्टोमेट्री, फुड साइन्स, स्पोर्टस् साइन्सजस्ता अत्यन्तै महत्वपूर्ण विषय अध्ययनका लागि समेत बर्सेनि सुदूरपश्चिमका हजारौँ विद्यार्थीले ठूलो पुँजी खर्चिएर राजधानी वा विदेशका कलेजमा भर्ना हुनु परिरहेको छ ।

यसर्थ पनि विश्वका अन्य देशका सफल मेडिकल विश्वविद्यालयमा झैँ मेडिसिन, नर्सिङ, डेन्टल, फार्मेसी, पब्लिक हेल्थ, मेडिकल ल्याबोरेटरी, फिजिओथेरापी, अप्टोमेट्री, फुड साइन्स तथा टेक्नोलोजी, बायोमेडिकल साइन्स तथा इन्जिनियरिङ, हेल्थ केयर म्यानेजमेन्ट, स्पोर्टस् साइन्स आदि विषयका कलेज स्थापना गरी स्नातक, स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गर्न मिल्ने र सुदूरपश्चिम क्षेत्रको आमआवश्यकताअनुसार स्वास्थ्य विज्ञानसँग सम्बन्धित सम्पूर्ण विधाको अध्ययन तथा अनुसन्धान गर्न सकिने परिकल्पनासहित गेटालाई एकीकृत शैक्षिक स्वास्थ्य विज्ञान केन्द्रको रूपमा मेडिकल विश्वविद्यालय बनाउनु उचित हुन्छ ।

स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउन सरकारले सुदूरपश्चिमका विभिन्न जिल्लाका स्वास्थ्य चौकी तथा साना–ठूला अस्पतालमा हरेक वर्ष अर्बौं रकम खर्च गर्दै आएको छ । तर पनि विगत ३० वर्षभन्दा बढी समयदेखि सुदूरपश्चिमका प्रमुख अस्पतालले समेत उक्त क्षेत्रका विभिन्न जिल्लाबाट रिफर भई आएका बिरामीलाई भारत तथा नेपालगन्ज र काठमाडौंका अस्पतालमा रिफर गरी पठाउनुपर्ने अवस्था छ । यस क्षेत्रमा सञ्चालनमा रहेका प्रमुख स्वास्थ्य उपचार केन्द्रहरूले स्थापनाको दशकौँ हुँदा पनि विशिष्ट चिकित्सक टोली र उपकरणहरूको माध्यमबाट मुटुको शल्यक्रिया, क्यान्सर उपचार, आगोले पोलेको उपचार, प्लास्टिक सर्जरी, न्युरो सर्जरीजस्ता अत्यन्तै महत्वपूर्ण उपचार उपलब्ध गराउन सकेका छैनन् ।

सरकारी लगानीमा स्थापना र सञ्चालन भएका सुदूरपश्चिमका विभिन्न जिल्लाका अस्पताललाई एकीकृत स्वास्थ्य सेवा प्रणालीअन्तर्गत ल्याई प्रस्तावित मेडिकल विश्वविद्यालयको ‘स्याटेलाइट हस्पिटल’का रूपमा सहजै विस्तार गर्न सकिन्छ । यसो हुँदा मेडिकल विश्वविद्यालय ‘स्वास्थ्य सेवा सञ्जाल र प्रणाली’को माध्यमबाट सुदूरपश्चिमका विभिन्न जिल्लाका अस्पताल वा स्वास्थ्य केन्द्रबाट भरपर्दाे, गुणस्तरीय र सुलभ सेवा आमनागरिकलाई सहजै प्रदान गर्न सकिन्छ । यस्तो एकीकृत स्वास्थ्य शिक्षा तथा सेवा प्रणालीको अनुगमन र नियमन गर्न सरकार वा सरोकारवालालाई निकै सहज र प्रभावकारी पनि हुन्छ ।

यस्ता संस्थालाई आत्मनिर्भर बनाई सरकारको आर्थिक बोझ कम गर्न संसारका धेरैजसो उत्कृष्ट विश्वविद्यालय केन्द्रीय सरकार वा प्रदेश तथा स्थानीय सरकारको आर्थिक सहयोगबाट वा सार्वजनिक तथा निजी क्षेत्रको सहयोगबाट प्राइभेट तर गैरनाफामूलक शैक्षिक संस्थाको रूपमा स्थापना र सञ्चालन गरिएका हुन्छन् । उदाहरणका लागि नेपालभन्दा सानो तर छोटो समयमा चामत्कारिक विकास गर्न सफल देश दक्षिण कोरियामा करिब दुई सय विश्वविद्यालय छन् ।

स्थापनाका आधारमा कोरियामा केन्द्रीय सरकारद्वारा स्थापित राष्ट्रिय विश्वविद्यालय, प्रान्त सरकारद्वारा स्थापित सार्वजनिक विश्वविद्यालय र धार्मिक, सामाजिक गुठी वा निजी क्षेत्रद्वारा स्थापित गैरनाफामूलक निजी विश्वविद्यालय छन् । मेडिकल विश्वविद्यालयको स्थापना गर्दा संरचनामा प्राध्यापक र विद्यार्थीहरूको संग्लनता रहने गरी स्वास्थ्य विज्ञानका विभिन्न विधामा अध्ययन तथा अनुसन्धानसहितको विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालनमा ल्याइनुपर्दछ । 

केही समयअगाडि ‘सुदूरपश्चिम साइन्स नेटवर्क’द्वारा गरिएको एक अप्रकाशित तर विश्वसनीय सर्वेक्षणलाई मात्रै आधार मान्ने हो भने पनि अहिले ठूलो संख्यामा मेडिकल तथा हेल्थ साइन्समा दख्खल राख्ने सुदूरपश्चिम क्षेत्रका उच्च दक्ष जनशक्ति स्वदेश वा विदेशका उत्कृष्ट विश्वविद्यालय, अस्पताल, हेल्थकेयर सेवाप्रदायक वा शैक्षिक संस्थाहरूमा अध्ययन, अध्यापन, अनुसन्धान तथा नेतृत्व तहमा क्रियाशील छन् । गेटालाई मेडिकल विश्वविद्यालयको रूपमा विकास र विस्तार गर्दा त्यो जनशक्ति आफ्नै क्षेत्रमा फर्किएर आफ्नो दक्षताअनुसार विभिन्न उच्च शिक्षा र स्वास्थ्य सेवाका कार्यक्रममा आबद्ध हुन आउने र आफ्नो ज्ञान तथा सीपलाई यही क्षेत्रमा प्रयोग गर्ने बाटो खुल्छ । 

गेटामा स्थापना हुने मेडिकल विश्वविद्यालयले स्वास्थ्य सेवा सञ्जाल र प्रभावकारी प्रणालीको माध्यमबाट सुदूरपश्चिमका विभिन्न जिल्लाका अस्पताल वा केन्द्रबाट भरपर्दाे, गुणस्तरीय र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गरी सुदूरपश्चिमका लाखौँ नागरिकलाई स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । मेडिकल विश्वविद्यालयअन्तर्गतका विभिन्न शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिले यो क्षेत्रको मुख्य स्वास्थ्य समस्या, त्यसको कारण र रोकथामका उपायबारे ठोस नीतिहरू बनाउनसमेत स्थानीय तथा केन्द्रीय सरकारलाई दिशानिर्देश गरी स्वस्थ र समृद्ध सुदूरपश्चिम निर्माणमा प्रत्यक्ष सहयोग पुर्‍याउनेछ । प्रभावकारी तृतीय श्रेणीको (टर्टिअरी केयर) सेवा सहित अन्तर्राष्ट्रियस्तरको युनिभर्सिटी हस्पिटल सञ्चालन पश्चात् उपचारका लागि सुदूरपश्चिमबाट बाहिरिने ठूलो रकम रोकिनेछ । छिमेकी मुलुकका केही राज्य तथा सुदूरपश्चिमवरपरका बिरामीका लागि समेत यो आकर्षक उपचार केन्द्रको रूपमा विकास हुन सक्ने सम्भावना उच्च छ । 

कस्तो हुनुपर्छ प्रस्तावित मेडिकल विश्वविद्यालय ? : नेपालमा केही विश्वविद्यालय र तीअन्तर्गतका सम्बन्धन वा आंगिक थुप्रै क्याम्पस र कलेज छन् । केही समययता सरकारले विभिन्न प्रतिष्ठान र केही थप विश्वविद्यालय स्थापनाको तयारी पनि गरिरहेको छ । तर, केही अपवादबाहेक सबैजसो विश्वविद्यालय र प्रतिष्ठानको सञ्चालन प्रणालीमा समस्या छ । तसर्थ, गेटा मेडिकल विश्वविद्यालय सञ्चालन विधि र नीति तर्जुमा गर्दा देहायका बुँदा सम्बोधन गरिनु वाञ्छनीय हुन्छ:

राजनीतिक प्रभावबाट मुक्त : संसारभरिका शैक्षिक थलोमा विद्यार्थी, प्राध्यापक र कर्मचारी कुनै पनि राजनीतिक पार्टीको कार्यकर्ता भई वा राजनीतिक पार्टीमा सक्रिय भई काम गर्न प्रतिबन्धित हुन्छन् वा सो काममा लाग्न कसैलाई फुर्सद र चाहना नै हुँदैन । विडम्बना ! नेपालका ठूला एवं पुराना विश्वविद्यालय तथा नयाँ विश्वविद्यालय, प्रतिष्ठान र तिनका क्याम्पस र कलेजसमेत राजनीतिक पार्टीका गतिविधिले ग्रसित छन् । विश्वविद्यालय र प्रतिष्ठानमा विद्यार्थी, प्राध्यापक र कर्मचारीको हितमा खोलिएका संघ–संगठनले ती संस्थालाई राजनीतिक पार्टीका कार्यकर्ता भर्तीकेन्द्रको रूपमा विकास गरी भविष्य अन्धकार बनाउन मुख्य भूमिका खेलेका छन् ।

शिक्षा क्षेत्रमा भएको चरम राजनीतिक हस्तक्षेपविरुद्ध वेलाबखत उठ्ने आवाज पनि राजनीतिक कोलाहलमै बिलाउने गर्छ । प्रस्तावित मेडिकल विश्वविद्यालयलाई विशुद्व अध्ययन, अध्यापन, अनुसन्धान र उद्यम केन्द्रको रूपमा विकास गर्न सरोकारवाला सबैले मिलेर राजनीतिक हस्तक्षेपमुक्त र पूर्ण रूपमा स्वायत्त संस्थाका रूपमा विकास गर्ने प्रण गर्नुपर्ने हुन्छ । यसको पहिलो सर्त प्रस्तावित विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति विशिष्ट शैक्षिक योग्यता, उत्कृष्ट नेतृत्व क्षमता र उच्च नैतिक आचरणलाई बनाइनुपर्छ । 

साथै, यसको मर्यादा कायम राख्न निजी शैक्षिक संस्थाहरूलाई सम्बन्धन नदिने प्रावधान राख्न पनि आवश्यक छ । विश्वविद्यालयको मर्म र उद्देश्य नबुझेझैँ गरी धेरैजसो नेपाली विश्वविद्यालयले असुहाउँदा निजी शैक्षिक संस्थालाई सम्बन्धन दिने गरेका छन् । तसर्थ, प्रस्तावित मेडिकल विश्वविद्यालयलाई निजी नाफाखोर शैक्षिक संस्थाहरूलाई सम्बन्धन दिने अनुमति कदापि दिनु हुँदैन । विश्वविद्यालय र प्रतिष्ठानको भौतिक संरचना निर्माण गर्नेदेखि सञ्चालनसम्मको सम्पूर्ण आर्थिक भार सरकारलाई भइरह्यो भने न त संस्थाको दिगो विकास हुन्छ, न त त्यसले समाजमा परिवर्तनको आभास दिन्छ । तसर्थ, प्रस्तावित मेडिकल विश्वविद्यालय सुरुदेखि नै विश्वस्तरीय शैक्षिक, अनुसन्धान, विकास र उद्यमका कार्यक्रम र नीतिसहित आत्मनिर्भर हुने बाटोमा जानुपर्छ । 

(दक्षिण कोरियास्थित मेडिकल इन्नोवेसन प्रतिष्ठानमा औषधि अनुसन्धानमा पोस्टडक्टोरल फेलोसिप गरिरहेका कडायतले यो लेख नयाँ पत्रिका दैनिकमा लेखेका छन् ।)