कैलाली जिल्ला सिनियर पुरुष छनोट क्रिकेट प्रतियोगिता सकियो 
अन्तिम खेलमा फाप्ला शिवपुरी विजयी 
2020/12/09, 9:16
 
cricket

धनगढीको फाप्ला क्रिकेट मैदानमा कैलाली जिल्ला क्रिकेट संघले  मंङ्सीर १८ गतेदेखि सुरु गरेको जिल्ला स्तरीय सिनियर पुरुष छनोट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । कैलाली जिल्ला क्रिकेट संघका सचिव देवनारायण झाका अनुसार छनोट प्रतियोगिताको अन्तिम खेलमा फाप्ला जाखोर ताल र फाप्ला शिवपुरी बीच भएको खेलमा फाप्ला शिवपुरी विजयी भएको छ । छनोट प्रतियोगिताको अन्तिम खेल फाप्ला शिवपुरीले ७३ रनले जितेको छ ।

फाप्ला जाखोर तालले टस जित्दै पहिला फिल्डिङ गर्ने निर्णय गरेसङ्गै फाप्ला शिवपुरीलाई ब्याटिङको निम्तो दिएको हो । फाप्ला शिवपुरीले निर्धारित ३० ओभरको खेलमा पुरै ३० ओभर खेल्दै ८ विकेटको क्षति १६५ रन बनायो । ब्याटिङ तर्फ फाप्ला शिवपुरीका विजय रानाले ५५ बल खेल्दै सर्वाधिक २८ रन बनाउदा नरेन साउँदले १३ बलमा अविजित २२ रन, सुवास ऐरले १२ बलमा २१ रन, संगीत बुढाथोकीले ४१ बलमा १८ रन तथा कप्तान शेर मल्लले १५ बलमा ११ रन बनाए । 

बलिङ तर्फ फाप्ला जाखोर तालका लागि विवेक केसीले ६ ओभरमा २७ रन खर्चंदै सर्वाधिक ३ विकेट लिदा सुनिल लोथ्यालले ६ ओभरमा १५ रन खर्चदा मनोज चनाराले ५ ओभरमा ३१ रन खर्चदै समान २, २ विकेट तथा हेमन्त बुढाले ६ ओभरमा ४८ रन खर्चदै १ विकेट लिए ।  १६६ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको फाप्ला जाखोर तालले निर्धारित ३० ओभरको खेलमा २५.४ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्रै बनाउनसक्या ।

ब्याटिङ तर्फ फाप्ला जाखोर तालका लागि पदम केसीले ३८ बलमा सर्वाधिक २६ रन बनाउँदा बसन्तसिंह कार्कीले २८ बलमा १९ रन तथा मनोज चनाराले ३० बलमा १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङ तर्फ फाप्ला शिवपुरीका लागि नरेन साउँदले ६ ओभरमा १ मेडन सहित २४ रन खर्चदा सर्वाधिक ४ विकेट लिन सफल हुँदा नारायण जोशीले ६ ओभरमा २ मेडेनसहित १६ रन खर्चदा नागराज सिंहले ६ ओभरमा १ मेडेनसहित १६ रन खर्चदै समान २, २ विकेट, शेर मल्लले ६ ओभरमा १९ रन खर्चदै विरेन्द्र नाथले १.४ ओभरमा ४ रन खर्चदै समान १, १ विकेट लिए ।